काठमाडौं । गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनमा प्रतिक्रियामूलक होइन, पूर्वतयारीमुखी कार्यशैली अपनाउन सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा बिहीबार आयोजित उच्चस्तरीय बैठकमा उनले विपद् जोखिम न्यूनीकरण, उद्धार तथा पूर्वतयारीका विषयमा सुरक्षा निकायका प्रमुखहरूसँग छलफल गर्दै यस्तो निर्देशन दिएका हुन्।

बैठकमा गृहमन्त्री गुरुङले विगतमा विपद् घटिसकेपछि मात्र उद्धार तथा राहतका काममा केन्द्रित हुने प्रवृत्ति प्रभावकारी हुन नसकेको उल्लेख गरे। उनले सम्भावित बाढी, पहिरो तथा अन्य प्राकृतिक प्रकोपलाई मध्यनजर गर्दै सम्बन्धित निकायहरूलाई पूर्वतयारी, समन्वय र जोखिम न्यूनीकरणका उपायमा विशेष ध्यान दिन आग्रह गरे।

advertisement

‘विपद् भएपछि मात्र सक्रिय हुने होइन, त्यसअघि नै आवश्यक तयारी पूरा गर्नुपर्छ,’ उनले भने, ‘पूर्वसतर्कता र योजनाबद्ध तयारीबाट मात्रै जनधनको क्षति न्यून गर्न सकिन्छ।’

बैठकमा गृहमन्त्री गुरुङले विपद् प्रभावित क्षेत्रको निरीक्षणका नाममा राज्य स्रोतको दुरुपयोग हुने गरेको विगतको अभ्यासप्रति पनि असन्तुष्टि व्यक्त गरे। विशेष गरी हेलिकप्टर प्रयोगलाई लिएर उनले कडाइ गर्ने संकेत दिए।

उनले उद्धार, राहत तथा अत्यावश्यक सरकारी प्रयोजनबाहेक हेलिकप्टरको प्रयोगमा नियन्त्रण गरिने स्पष्ट पार्दै मन्त्रीहरू तथा उच्च पदस्थ अधिकारीहरूले अनावश्यक भ्रमणका नाममा राज्यकोषमा थप भार पार्न नहुने बताए। आफूले पनि व्यक्तिगत वा अनावश्यक प्रयोजनका लागि हेलिकप्टर प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गर्दै सार्वजनिक स्रोतको मितव्ययी उपयोगमा जोड दिए।

गृहमन्त्री गुरुङले आगामी मनसुनलाई लक्षित गर्दै उच्च जोखिममा रहेका बाढी तथा पहिरो प्रभावित क्षेत्रहरूमा आवश्यक जनशक्ति, उपकरण र उद्धार सामग्री पूर्वतयारी अवस्थामा राख्न निर्देशन दिए। सबै सुरक्षा निकाय तथा सम्बन्धित निकायहरूबीच प्रभावकारी समन्वय हुन सके विपद्का कारण हुने मानवीय क्षतिलाई न्यूनतम तहमा झार्न सकिने उनको विश्वास थियो।

‘सम्बन्धित सबै निकाय एकीकृत रूपमा परिचालित भएमा विपद्का कारण ज्यान गुमाउनुपर्ने अवस्था आउनु हुँदैन,’ उनले भने, ‘जनताको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखेर काम गर्नुपर्छ।’

बैठकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखहरूका साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसँग सम्बन्धित उच्च अधिकारीहरूको सहभागिता रहेको थियो। बैठकले मनसुनजन्य विपद्को सम्भावित जोखिमलाई ध्यानमा राख्दै तयारी, समन्वय र उद्धार क्षमतालाई थप सुदृढ बनाउने विषयमा विशेष जोड दिएको बताइएको छ।

प्रकाशित मिति: ४ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com