काठमाडौं । ४ मंसिरमा सम्पन्न चुनावबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता पशुपतिशम्शेर जबराले शपथ खुवाउने भएका छन् ।

प्रत्यक्ष निर्वाचित १६५ र दलहरुले समानुपातिक पद्धतिबाट निर्वाचित गर्न निर्वाचन आयोगका नाम बुझाएका ११० जनामध्ये ज्येष्ठ सदस्य उनै जबरा हुन् ।

यद्यपि, निर्वाचन आयोगले निर्वाचित सदस्यहरुको उमेर हेरेर ज्येष्ठ सदस्य तय गर्न बाँकी छ । सार्वजनिक विवरण अनुसार २७५ सदस्यमध्ये ज्येष्ठ सदस्यका रुपमा जबरा देखिएका हुन् । उनी ८१ वर्षका भए । जबराको जन्म १९९८ वैशाख २५ गते (सन ७ मे १९४१) काठमाडौंको महाराजगंजमा जन्मिएका थिए।

जबरा अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेरका नाति र विजय शमशेर जबराका छोरा हुन् । ज्येष्ठ सदस्यको रुपमा उनले प्रतिनिधिसभा सदस्यहरुलाई शपथ खुवाउनुका साथसाथै सभामुख चयन नहुँदासम्म प्रतिनिधिसभा बैठकको नेतृत्व समेत गर्ने अवसर प्राप्त गर्नेछन् ।

जबरा ती व्यक्ति हुन जसले मुलुकमा २०४६ सालमा प्रजातन्त्र पुनर्बहाली भएपछि पञ्चायत समर्थकको अगुवाइ गर्दै राप्रपा गठन गरेका थिए । जबरा पञ्चायतकाल देखि नै राजनीतिमा सक्रिय थिए ।

जबरा पञ्चायत कालमा पर्यटन तथा यातायात मन्त्री र पञ्चायत तथा स्थानीय विकास मन्त्री भएका थिए । नेपालमा बहुदलीय व्यबस्था आएपछि पनि उनी अर्थ मन्त्री, परराष्ट्र मन्त्री र जलस्रोतथ तथा सञ्चार मन्त्री भएका थिए ।

यसपटक राप्रपाले जबराको नाम समानुपातिक उम्मेदवारहरुको खस आर्यमा पहिलो नम्बरमा राखेको थियो । प्रत्यक्षतर्फ ७ सिट जितेको राप्रपाले सामानुपातिक तर्फ पनि सात सिट पाएको छ । पहिलो नम्बरमा भएका कारण जबराले पुनः प्रतिनिधि सभा सदस्य हुने अवसर प्राप्त गरेका हुन् ।

प्रकाशित मिति: २५ मंसिर २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com