काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूलाई प्रगतिशील विचारधाराको पक्षधर बताउने केही सांसदहरूको अभिव्यक्तिमा विरोधाभास देखिने गरेको टिप्पणी गरेका छन्।
शुक्रबार प्रतिनिधिसभामा आर्थिक विधेयकमाथि उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री वाग्लेले प्रगतिशील नारासहित प्रस्तुत हुने सांसदहरूले कर नीतिका विषयमा भने फरक धारणा राख्ने गरेको उल्लेख गरे।
उनले प्रगतिशील कर प्रणालीको उद्देश्य आर्थिक रूपमा सक्षम वर्गबाट बढी योगदान जुटाएर कमजोर र कम आय भएका वर्गलाई सहयोग पुर्याउनु रहेको स्पष्ट पारे। ‘प्रगतिशील करको मूल मर्म भनेको धेरै कमाउने र बढी क्षमता भएकाले समाजका कम अवसर प्राप्त वर्गप्रति थप योगदान गर्नु हो,’ उनले भने।
मध्यम वर्गमाथि अनावश्यक आर्थिक भार नपरोस् भन्ने उद्देश्यले सरकारले कर संरचनामा सन्तुलन कायम गर्ने प्रयास गरेको पनि उनले बताए। करसम्बन्धी केही व्यवस्थाहरू सोही सोचअनुसार ल्याइएको उनको भनाइ थियो।
ऊर्जा क्षेत्रबारे बोल्दै अर्थमन्त्री वाग्लेले विगतका सरकारहरूले दीर्घकालीन लगानी, कर छुट र नीतिगत सहुलियतमार्फत विद्युत् क्षेत्रको विकासलाई प्राथमिकता दिएको स्मरण गरे। त्यसकै परिणामस्वरूप अहिले विद्युत् उत्पादनमा निजी क्षेत्रको योगदान उल्लेखनीय रूपमा बढेर कुल उत्पादनको करिब ८० प्रतिशत हिस्सा ओगट्ने अवस्थामा पुगेको उनले बताए।
अबको चरणमा निजी क्षेत्रलाई थप प्रोत्साहन गर्दै विद्युत् व्यापार, प्रसारण लाइन विस्तार तथा ऊर्जा पूर्वाधार विकासमा सहजीकरण गर्ने सरकारको लक्ष्य रहेको उनले बताए। आवश्यक नीतिगत तथा करसम्बन्धी सहुलियतमार्फत ऊर्जा क्षेत्रलाई अझ उन्नत स्तरमा पुर्याउने तयारी भइरहेको उनको भनाइ थियो।
प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार












प्रतिक्रिया