काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा सहभागी नहुने बताएका छन्।

रास्वपाका सभापति रवि लामिछानेको तर्फबाट महाधिवेशनमा विशिष्ट अतिथिका रूपमा उपस्थित भई शुभकामना मन्तव्य दिन गरिएको निमन्त्रणाप्रति प्रतिक्रिया जनाउँदै साम्पाङले आफू कार्यक्रममा सहभागी हुन नसक्ने स्पष्ट पारेका हुन्।

advertisement

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले निमन्त्रणाप्रति सम्मान व्यक्त गरे पनि केही राजनीतिक विषयमा रास्वपाको स्पष्ट धारणा नआएको कारण उपस्थित हुन असहज भएको बताएका छन्।

‘रास्वपाले महाधिवेशनमा सहभागी हुन निम्तो पठाएको छ। यो सद्भावनापूर्ण निमन्त्रणा रविजीको पहलमा आएको हो भन्ने मलाई थाहा छ,’ साम्पाङले लेखेका छन्, ‘तर प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति पार्टीको आधिकारिक धारणा आएको भए मेरो लागि निर्णय गर्न सहज हुने थियो। त्यस्तो धारणा नआएकाले म कार्यक्रममा उपस्थित हुन सक्दिनँ।’

रास्वपाको प्रथम महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा आयोजना हुँदैछ। महाधिवेशनमार्फत पार्टीले नयाँ नेतृत्व चयनसहित भावी राजनीतिक कार्यदिशा तय गर्ने तयारी गरेको छ।

प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com