काठमाडौं । बाजुरा र हुम्लाबीचको सीमा विवादसँग सम्बन्धित घटनामा संलग्न रहेको आरोपमा २१ जना पक्राउ परेका छन्। उक्त घटनामा २३ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएकोमा हालसम्म २१ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ परेकाहरूलाई अनुसन्धानका लागि जिल्ला सदरमुकाम ल्याउने प्रक्रिया जारी छ। घटनाबारे थप अनुसन्धान गर्न हुम्ला प्रहरीसँग समन्वय गरिएको बताइएको छ।
हिमाली गाउँपालिका–३ लाम्पाटामा प्रहरी चौकी स्थापना गर्ने विषयलाई लिएर जेठ २ गतेदेखि ५ गतेसम्म विवाद चर्किएको थियो। सो क्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा कर्मचारीमाथि कुटपिट भएको र पर्यटकलाई रानीसैनस्थित साइपाल हिमालको पूर्वी आधार शिविरतर्फ जान अवरोध गरिएको आरोप छ।
घटनामा घाइते भएकी मीनु कुँवरका बुबाले किटानी जाहेरी दिएका थिए। हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थाली गाउँ तथा आसपासका बासिन्दाको संलग्नता रहेको आरोप लगाइएको छ।
हाल घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा बेस स्थापना गरिएको छ भने घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार












प्रतिक्रिया