काठमाडौ । नेकपाका नेता वर्षमान पुनले नेपाल अहिले नयाँ र पुराना विश्वशक्तिबीचको भू–राजनीतिक प्रतिस्पर्धाको केन्द्रमा परेको बताएका छन्। विश्व शक्ति क्रमशः एसियातर्फ सर्दै गएको र चीन–भारतको वरिपरि शक्ति सन्तुलनको नयाँ समीकरण बन्दै गएकाले त्यसको प्रभाव नेपालमा पनि परेको उनको भनाइ छ। यस्तो अवस्थामा नेपालले राष्ट्रिय हितलाई केन्द्रमा राखेर स्पष्ट दृष्टिकोणका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।
पुनले कम्युनिस्ट पार्टीहरूले पछिल्ला निर्वाचनमा जनमत गुमाउनुको प्रमुख कारण २०७४ सालको नेकपा एकतालाई जोगाउन नसक्नु रहेको बताए। दुई तिहाइ जनमत प्राप्त गरेपछि पनि त्यसलाई प्रभावकारी रूपमा सदुपयोग गर्न नसक्दा जनतामा निराशा पैदा भएको उनको भनाइ छ। उनले विचार, नेतृत्व, कार्यशैली र संगठनका कमजोरीबारे गम्भीर आत्मसमीक्षा गरेर मात्रै जनविश्वास पुनः प्राप्त गर्न सकिने उल्लेख गरे।
प्रकाशित मिति: ६ असार २०८३, शनिबार












प्रतिक्रिया