काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले जनताबाट प्राप्त विश्वास र जनमतलाई जिम्मेवारीपूर्वक उपयोग गर्नुपर्ने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई आइतबार सम्बोधन गर्दै थापाले विगतमा विभिन्न राजनीतिक दलहरू जनताले दिएको म्यान्डेटलाई सही ढंगले व्यवस्थापन गर्न नसक्दा समस्यामा परेको उल्लेख गरे।
उनले जनमतसँगै आउने जिम्मेवारीलाई गम्भीरतापूर्वक आत्मसात् गर्नुपर्नेमा जोड दिँदै रास्वपाले प्राप्त गरेको जनविश्वासलाई सुरक्षित राख्नुपर्ने बताए।
‘नेपालको राजनीतिक इतिहासमा पटक–पटक जनताले ठूलो विश्वास दिएका छन्। तर कतिपय अवस्थामा त्यही विश्वास अहंकार र दम्भका कारण कमजोर बनेको छ,” थापाले भने, “यसपटक जनताले दिएको म्यान्डेट सही दिशामा प्रयोग होस् भन्ने हाम्रो शुभेच्छा छ।’
थापाले कांग्रेस र रास्वपाबीच राजनीतिक प्रतिस्पर्धा स्वाभाविक भए पनि त्यसलाई शत्रुताका रूपमा बुझ्न नहुने बताए। लोकतान्त्रिक व्यवस्थामा दलहरूबीच स्वस्थ प्रतिस्पर्धा आवश्यक हुने उल्लेख गर्दै उनले राष्ट्रिय हितका सवालमा सहकार्य र संवादको वातावरण कायम रहनुपर्ने धारणा राखे।
उनले रास्वपाको महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै जनताको अपेक्षा पूरा गर्न सबै राजनीतिक दलहरू जिम्मेवार बन्नुपर्ने बताए।
प्रकाशित मिति: ७ असार २०८३, आइतबार












प्रतिक्रिया