चितवन । प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले पार्टीको राजनीतिक अभियान स्पष्ट लक्ष्य र योजनासहित अघि बढिरहेको बताएका छन्।
चितवनको भरतपुरमा आइतबार आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीले थालेको राजनीतिक यात्रा कुनै अन्योल वा विचलनमा नभई निश्चित गन्तव्यतर्फ अग्रसर रहेको दाबी गरे।
महाधिवेशनमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरूले दिएको सुझाव र रास्वपाको भविष्यबारे व्यक्त गरेका धारणा तथा चिन्ताप्रति संकेत गर्दै प्रधानमन्त्री शाहले पार्टीको अभियानप्रति आफूहरू पूर्ण रूपमा विश्वस्त रहेको बताए।
उनले रास्वपाको यात्रालाई ‘गाडी’सँग तुलना गर्दै भने, ‘यहाँ उपस्थित अतिथिहरूले धेरै सुझाव दिनुभएको छ, त्यसका लागि धन्यवाद। तर म यति भन्न चाहन्छु— हाम्रो गाडी अनियन्त्रित छैन। हामी कहाँ जाने भन्ने स्पष्ट छ, र यो यात्रा आफ्नो गन्तव्यमा नपुग्दासम्म रोकिने छैन।’
शाहले जनताले परिवर्तनको अपेक्षासहित दिएको विश्वासलाई परिणाममा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै रास्वपाको अभियान दीर्घकालीन राजनीतिक रूपान्तरणतर्फ केन्द्रित रहेको बताए।
उनको भनाइलाई महाधिवेशनमा उपस्थित प्रतिनिधि तथा कार्यकर्ताले उत्साहपूर्वक स्वागत गरेका थिए।
प्रकाशित मिति: ७ असार २०८३, आइतबार












प्रतिक्रिया