चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा संस्थापक सदस्यहरूलाई स्वतः केन्द्रीय समिति सदस्य बनाउने निर्णय खारेज भएपछि पार्टी स्थापनाकालदेखि सक्रिय केही नेताहरू असन्तुष्ट बनेका छन्।
पार्टी सचिवालयको असार ४ गते बसेको बैठकले संस्थापक सदस्यहरूलाई स्वतः केन्द्रीय समिति सदस्य बनाउने निर्णय गरेको भन्दै त्यससम्बन्धी सर्कुलरसमेत जारी गरिएको थियो। तर, पछि पार्टीमा समायोजनमार्फत आएका नेताहरूको असन्तुष्टिपछि उक्त निर्णय कार्यान्वयन नगर्ने निष्कर्षमा नेतृत्व पुगेको बताइएको छ।
रास्वपाका एक संस्थापक सदस्यका अनुसार समायोजनमा आएका नेताहरूले निर्णयप्रति आपत्ति जनाएपछि सचिवालय आफ्नो निर्णयबाट पछि हटेको हो।
उनले भने, ‘सचिवालय बैठकपछि संस्थापक सदस्यलाई स्वतः केन्द्रीय सदस्य बनाउने सर्कुलर आएको थियो। तर, समायोजनमा आएका नेताहरूको विरोधपछि निर्णय संशोधन गरिएको जानकारी प्राप्त भएको छ। सभापतिले मनोनयन गर्ने ५१ जना केन्द्रीय सदस्यभित्र संस्थापक सदस्यहरूलाई पनि समेटिनुपर्छ।’
पार्टीको संगठनात्मक संरचना र प्रतिनिधित्वलाई लिएर देखिएको यो असन्तुष्टिबीच रास्वपाको प्रथम महाधिवेशन हाल चितवनमा जारी छ।
प्रकाशित मिति: ८ असार २०८३, सोमबार













प्रतिक्रिया