चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीको महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

पार्टीको बन्दसत्रस्थल बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले महामन्त्री पदका लागि आफू पूर्ण रूपमा तयार रहेको बताएका हुन्। उनले आफ्नो उम्मेदवारीबारे सार्वजनिक रूपमा भइरहेका चर्चाहरूलाई पनि स्वीकार गरेका छन्।

advertisement

‘महामन्त्री पदका लागि म मानसिक रूपमा तयार भइसकेको छु। परिणाम जे आए पनि प्रतिस्पर्धामा उत्रिने मेरो निर्णय कायम छ,’ झाले भने।

उनले आफ्नो उम्मेदवारीबारे सञ्चारमाध्यममा आएका समाचार र चर्चाहरू स्वाभाविक रहेको उल्लेख गर्दै नेतृत्वमा थप जिम्मेवारी वहन गर्ने आकांक्षा आफूमा रहेको बताए।

‘मिडियामा आएको चर्चा कुनै आधारबिना होइन। म त्यसलाई स्वीकार गर्छु। पार्टीभित्र मप्रति गरिएको अपेक्षा र दाबीलाई पनि स्वाभाविक रूपमा लिनुपर्छ,’ उनले भने।

झाले आफूले उच्च राजनीतिक जिम्मेवारी निर्वाह गर्ने चाहना राखे पनि प्रधानमन्त्री वा पार्टी सभापति बन्ने लक्ष्य कहिल्यै नराखेको स्पष्ट पारे।

‘यो देशको प्रधानमन्त्री वा पार्टीको सभापति नै बन्नुपर्छ भन्ने मेरो अपेक्षा कहिल्यै थिएन। तर, अहिलेसम्म सम्हालेको जिम्मेवारीभन्दा अगाडि बढेर योगदान गर्ने चाहना भने स्वाभाविक रूपमा रहन्छ,’ उनले बताए।

रास्वपाको प्रथम महाधिवेशन चलिरहेका बेला झाको उम्मेदवारी घोषणाले पार्टीभित्र नेतृत्व चयनको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

प्रकाशित मिति: ८ असार २०८३, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com