काठमाडौं। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनका कारण प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सिंगै मन्त्रिपरिषद् राजधानी छोडेर चितवन पुगेको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनबाहेक सबै मन्त्री महाधिवेशनमा सहभागी हुन चितवन गएका हुन् ।
प्रधानमन्त्री बालेन शाहसहित १७ जना मन्त्री चितवन पुगेर विभिन्न होटलमा बसेका छन् । महाधिवेशनको चुनावी प्रक्रिया सुरु नभएका कारण उनीहरू आज पनि चितवनमै रहनेछन् । यद्यपि, अहिलेसम्म महाधिवेशन स्थलमा शिक्षामन्त्री सस्मित पोखरेलबाहेक अन्य मन्त्री देखा परेका छैनन् ।
प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछाने कालिका नगरपालिका–९ स्थित होटल लटौली सेन्चुरीमा बसेका छन् । गृहमन्त्री सुधन गुरुङ भरतपुर–४ स्थित शिवघाट रेन फरेस्ट, ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ भरतपुर–३ स्थित सिद्धार्थ होटल, अर्थमन्त्री स्वर्णिम वाग्ले चितवन खैरहनी–१३ स्थित होटल बनवासा र परराष्ट्रमन्त्री शिशिर खनाल भरतपुर–१० स्थित होटल सेराइचुलीमा बसेका छन् ।
सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिना रत्ननगर–६ स्थित होटल पार्क ल्यान्ड, महिला तथा बालबालिका मन्त्री सीता वादी रत्ननगर–७ स्थित वाइल्ड लाइफ क्याम्प र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल रत्ननगर–६ स्थित सपना भिलेज रिसोर्टमा बसेका छन् ।
शिक्षामन्त्री सस्मित पोखरेल भरतपुर–१० स्थित सिराइचुली होटलमा, श्रम मन्त्री रामजी यादव रत्ननगर–६ स्थित जंगल क्राउन होटलमा, कानुनमन्त्री सोविता गौतम भरतपुर–१५ स्थित आफ्नै निवासमा, भूमि व्यवस्था तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल रत्ननगर–६ स्थित होटल वाइल्ड लाइफमा, स्वास्थ्य मन्त्री निशा मेहता भरतपुर–१० स्थित नारायणी ल्यान्डमार्कमा, उद्योग मन्त्री गौरीकुमारी यादव भरतपुर–१० स्थित भरतपुर गार्डेन रिसोर्टमा र कृषि तथा वन मन्त्री गीता चौधरी रत्ननगर–६ स्थित भिलेज रिसोर्टमा बसेका छन् ।
महाधिवेशन आज भरतपुरस्थित गेस्टहाउस चौरमा सुरु भएको छ ।
प्रकाशित मिति: ८ असार २०८३, सोमबार












प्रतिक्रिया