चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज दिउँसो २ बजेदेखि सुरु हुने भएको छ ।
महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रमा विभिन्न प्रतिवेदन प्रस्तुत गर्ने, विधान संशोधन र आर्थिक–राजनीतिक प्रस्तावनामाथि छलफल गर्ने तथा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढाउने कार्यतालिका तय गरिएको छ ।
कार्यतालिकाअनुसार बिहान १० बजेदेखि प्रतिनिधि दर्ता सुरु भइसकेको छ । दिउँसो २ बजेदेखि बन्दसत्रको औपचारिक सुरुवात गर्दै अनुशासन आयोगको प्रतिवेदन रमाकान्त रिमालले प्रस्तुत गर्नेछन् । त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन र महामन्त्री बुर्लाकोटीले संगठनात्मक प्रतिवेदन पेश गर्नेछन् ।
दिउँसो ३ः४५ बजेदेखि सहमहामन्त्री विपिनकुमार आचार्यले केन्द्रीय समितिबाट पारित विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् भने अपराह्न ४ः४५ बजेदेखि उपसभापति डा. स्वर्णिम वाग्लेले आर्थिक–राजनीतिक प्रस्तावना पेश गर्नेछन् ।
साँझ ५ः१५ बजेदेखि सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । साँझ ६ः३५ बजेसम्म उक्त प्रतिवेदनमाथि छलफल हुनेछ ।
बन्दसत्रको अन्त्यमा सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समितिको गठन घोषणा गर्नेछन् । त्यसपछि आयोजक समितिले निर्वाचनको जिम्मेवारी निर्वाचन आयोगलाई हस्तान्तरण गर्नेछ । निर्वाचन आयोगले निर्वाचन प्रक्रिया र समयतालिका सार्वजनिक गरेपछि नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढ्ने छ ।
महाधिवेशनमा देशभरिबाट आएका प्रतिनिधिहरू सक्रिय रूपमा सहभागी भइरहेका छन् ।

प्रकाशित मिति: ९ असार २०८३, मंगलबार













प्रतिक्रिया