एजेन्सी । एयर इन्डियाको एक यात्रुवाहक विमान उडानका क्रममा देखिएको प्राविधिक समस्याका कारण निर्धारित मार्गबाट विचलित भई केही समयका लागि पाकिस्तानको हवाई क्षेत्रमा प्रवेश गरेको छ। पछि विमानलाई सुरक्षित रूपमा भारत फर्काएर गन्तव्यसम्म पुर्‍याइएको एयरपोर्ट अधिकारीहरूले जनाएका छन्।

एयरबस एआई–३२१ विमानले सोमबार राति ९ः१८ बजे दिल्लीबाट अमृतसरका लागि उडान भरेको थियो। निर्धारित समयभन्दा केही ढिलो प्रस्थान गरेको उक्त विमान उडानकै क्रममा प्राविधिक गडबडीका कारण आफ्नो निर्धारित मार्गबाट बाहिरिएको बताइएको छ।

advertisement

विमान पाकिस्तानको हवाई क्षेत्रमा प्रवेश गरेपछि त्यहाँको हवाई यातायात नियन्त्रण (एटीसी)ले सीमा उल्लङ्घनबारे जानकारी गराएको थियो। त्यसपछि पाइलटले तत्काल स्थिति नियन्त्रणमा लिँदै विमानलाई भारतीय हवाई क्षेत्रमा फर्काएका थिए।

तर अमृतसरको आकाशमा अत्यधिक हवाई चाप रहेकाले विमानलाई तत्काल अवतरण अनुमति प्राप्त हुन सकेन। त्यसपछि एटीसीले विमानलाई पुनः दिल्ली फर्किन निर्देशन दिएको थियो। विमान सुरक्षित रूपमा दिल्ली अवतरण गरेपछि आवश्यक प्राविधिक जाँच र अनुमति प्रक्रिया पूरा गरी करिब दुई घण्टापछि पुनः अमृतसरका लागि उडाइएको थियो।

दोस्रो पटकको उडानपछि विमान अन्ततः राति २ः२० बजे अमृतसर विमानस्थलमा सुरक्षित अवतरण गरेको अधिकारीहरूले बताएका छन्। घटनाका कारण यात्रुहरूले करिब चार घण्टासम्म ढिलाइको सामना गर्नुपरेको थियो।

विमान निर्धारित मार्गबाट कसरी विचलित भयो र पाकिस्तानको हवाई क्षेत्रमा प्रवेश गर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा सम्बन्धित निकायहरूले विस्तृत अनुसन्धान थालेका छन्। साथै उडानका क्रममा देखिएको प्राविधिक समस्याको कारणबारे पनि छानबिन भइरहेको जनाइएको छ।

प्रकाशित मिति: १० असार २०८३, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com