काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रूपमा घटिसक्दा पनि नेपालमा इन्धनको मूल्य समायोजन नगरेको भन्दै सरकार र नेपाल आयल निगमको आलोचना गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल ११७.६३ अमेरिकी डलरबाट घटेर ६९.२१ डलरमा झरेको उल्लेख गरेका छन्। उनका अनुसार विश्व बजारमा करिब ३० प्रतिशतभन्दा बढी मूल्य घटिसक्दा पनि नेपाली उपभोक्ताले पुरानै महँगो दरमा इन्धन खरिद गर्नुपरेको अवस्था अन्यायपूर्ण भएको बताएका छन्।
उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा त्यसको प्रत्यक्ष लाभ आम नागरिकसम्म पुग्नुपर्ने भन्दै मूल्य समायोजनमा भइरहेको ढिलाइप्रति प्रश्न उठाएका छन्।
पौडेलले आयल निगमले ‘नेपालले कच्चा तेल नभई प्रशोधित इन्धन खरिद गर्ने भएकाले मूल्य तत्काल घटाउन नसकिने’ तर्क गर्दै आएको उल्लेख गर्दै त्यसलाई पर्याप्त आधार मान्न नसकिने बताएका छन्। उनका अनुसार कच्चा र प्रशोधित तेलको मूल्यबीच केही समयको अन्तर र प्रशोधन लागत जोडिने भए पनि कच्चा तेलको मूल्यमा आएको ठूलो गिरावटले अन्ततः प्रशोधित इन्धनको लागतसमेत घटाउने निश्चित छ।
उनले मूल्य घट्दाको वास्तविक अवस्था र लागतसम्बन्धी जानकारी उपभोक्तासामु पारदर्शी रूपमा सार्वजनिक नगरी पुरानै प्राविधिक तर्क दोहोर्याइरहनु निगमको कमजोरी भएको टिप्पणी गरेका छन्।
पौडेलले सरकार र निगमभित्र सुशासन, पारदर्शिता तथा प्रभावकारी व्यवस्थापनको अभाव देखिएको आरोपसमेत लगाएका छन्। उनले नियमित रूपमा आउने नयाँ मूल्यसूचीका आधारमा स्वचालित मूल्य प्रणाली लागू गरी मूल्य बढ्दा र घट्दा दुवै अवस्थामा समान रूपमा समायोजन हुनुपर्ने धारणा व्यक्त गरेका छन्।
‘मूल्य बढ्ने बेला तत्काल लागू हुने तर घट्ने बेला विभिन्न बहाना देखाएर ढिलाइ गरिने प्रवृत्ति स्वीकार्य हुन सक्दैन,’ उनले भनेका छन्। ‘घाटा हुँदा महँगो मूल्य तिरेर उपभोक्ताले साथ दिने, तर मूल्य घट्दा राहत नपाउने अवस्था न्यायोचित होइन।’
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार













प्रतिक्रिया