काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले पार्टीको प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयन प्रक्रियामा पनि सबै महाधिवेशन प्रतिनिधिहरूले मतदान गर्न पाउने बताएका छन्।
महाधिवेशनमा हाल केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया जारी रहेको छ। निर्वाचन कार्यतालिका प्रभावित हुँदा धेरै प्रतिनिधिहरू घर फर्किन थालेको अवस्था भए पनि पदाधिकारी निर्वाचनमा प्रतिनिधिहरूको सहभागिता सुनिश्चित रहने खनालको भनाइ छ।
सञ्चारकर्मीसँग कुराकानी गर्दै खनालले निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट पदाधिकारी पदका लागि उम्मेदवारी दर्ता हुने र त्यसको अन्तिम निर्णय महाधिवेशन प्रतिनिधिहरूकै मतबाट हुने स्पष्ट पारे।
‘निर्वाचित केन्द्रीय सदस्यहरूमध्येबाट पदाधिकारीमा उम्मेदवारी दिन पाइन्छ। ती उम्मेदवारहरूको पक्ष वा विपक्षमा मतदान गर्ने अधिकार सबै महाधिवेशन प्रतिनिधिसँग रहनेछ,’ उनले भने।
परराष्ट्रमन्त्रीसमेत रहेका खनालले आफू महामन्त्री पदका लागि उम्मेदवार बन्ने घोषणा गरिसकेको जानकारी दिए। साथै, महाधिवेशन सञ्चालनका क्रममा देखिएका व्यवस्थापकीय कमजोरीप्रति पार्टी नेतृत्व सचेत रहेको र ती कमजोरीहरूलाई आफूहरूले स्वीकार गरेको पनि उनले बताए।
उनले आगामी दिनमा यस्ता कमजोरीहरू दोहोरिन नदिन आवश्यक सुधारका कदम चालिने विश्वास व्यक्त गरे।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार













प्रतिक्रिया