काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले देशभर विपद् व्यवस्थापन तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन एक लाख ६८ हजारभन्दा बढी विपद् सूचक (स्वयंसेवक) परिचालन गरेको जनाएको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी बलका केन्द्रीय प्रवक्ता तथा सशस्त्र प्रहरी नायव महानिरीक्षक नेत्रबहादुर कार्कीले संगठनले विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्यका लागि स्वयंसेवकहरूको सञ्जाल विस्तार गरेको जानकारी दिए।
उनका अनुसार सूचीकृत स्वयंसेवकहरूले स्थानीय तहमा विपद्सम्बन्धी सूचना संकलन, जोखिमको पहिचान तथा प्रतिकार्य योजना निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। सशस्त्र प्रहरीका केन्द्रीय तथा जिल्ला कार्यालयहरूले नियमित रूपमा स्वयंसेवकहरूसँग सम्पर्क र समन्वय गरी प्राप्त सूचनाका आधारमा आवश्यक तयारी तथा कार्ययोजना बनाउँदै आएका छन्।
तराई क्षेत्रमा बाढी र डुबानको उच्च जोखिमलाई ध्यानमा राख्दै सशस्त्र प्रहरीले विभिन्न स्थानमा अस्थायी तथा स्थायी विपद् प्रतिकार्य बेससमेत स्थापना गरेको जनाएको छ। साथै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, राष्ट्रिय विपद् कार्य सञ्चालन केन्द्र लगायत सम्बन्धित निकायसँग २४सै घण्टा समन्वय भइरहेको प्रवक्ता कार्कीले बताए।
उनले विपद्को पहिलो सामना स्थानीय समुदायले नै गर्ने भएकाले सामुदायिक स्तरमा सचेतना, पूर्वतयारी र सहभागितालाई विशेष प्राथमिकता दिइएको उल्लेख गरे।
कार्कीका अनुसार हाल सूचीकृत अधिकांश स्वयंसेवकहरू कुनै व्यक्तिगत अपेक्षाबिना नै सूचना आदानप्रदान र विपद् व्यवस्थापनमा सहयोग गरिरहेका छन्। केही स्थानीय तहले भने उनीहरूको सञ्चार खर्च व्यवस्थापनका लागि सहयोग गरेको पाइएको छ।
प्रवक्ता कार्कीले विपद् व्यवस्थापन प्रणालीलाई अझ प्रभावकारी बनाउन सञ्चारमाध्यम र सरोकारवाला निकायबाट प्राप्त हुने सुझाव तथा प्रतिक्रियाको महत्वपूर्ण भूमिका रहने बताए। साथै आगलागी लगायत अन्य विपद्का विषयमा प्राप्त सुझावलाई समेत आगामी रणनीति र तयारीमा समावेश गरिने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार













प्रतिक्रिया