काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले राष्ट्रिय परीक्षा बोर्डद्वारा सार्वजनिक गरिएको कक्षा १२ को नतिजा प्रक्रिया पूर्ण रूपमा पारदर्शी र विश्वसनीय रहेको दाबी गरेका छन्।
नतिजा प्रकाशनमा हतार गरिएको र प्राविधिक त्रुटि भएको भन्दै विद्यार्थीहरूले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरिरहेका बेला मन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएका हुन्।
उनले कक्षा १२ को नतिजा समयमै सार्वजनिक गर्न कुनै हतार नगरिएको स्पष्ट गर्दै आवश्यक जनशक्ति थप गरी तथा प्रशासनिक प्रक्रियाहरूलाई सरलीकरण गरेर मात्र नतिजा प्रकाशित गरिएको बताए।
‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन,’ उनले लेखेका छन्, ‘बरु आवश्यक जनशक्ति थपेर र अनावश्यक प्रशासनिक प्रक्रिया छोट्याएर तोकिएकै समयभित्र नतिजा सार्वजनिक गरिएको हो।’
विद्यार्थीहरूले गरिरहेको शान्तिपूर्ण आन्दोलनप्रति सम्मान व्यक्त गर्दै मन्त्री पोखरेलले लोकतान्त्रिक समाजमा असहमति जनाउने अधिकार सबैलाई सुरक्षित रहेको बताएका छन्। उनले सरकार विद्यार्थीका मागप्रति संवेदनशील रहेको पनि उल्लेख गरेका छन्।
त्यस्तै, आन्दोलनरत विद्यार्थीहरूप्रति सामाजिक सञ्जालमा भइरहेका अपमानजनक टिप्पणीप्रति उनले आपत्ति जनाउँदै संयमता अपनाउन आग्रह गरेका छन्।
‘शान्तिपूर्ण रूपमा आन्दोलन गरिरहेका कुनै पनि व्यक्ति वा समूहप्रति गालीगलौज वा असम्मानजनक टिप्पणी नगर्न सबैमा अनुरोध गर्दछु,’ उनले भने।
कक्षा १२ को नतिजामा प्राविधिक त्रुटि र ग्रेडिङ प्रणालीसम्बन्धी समस्या देखिएको भन्दै विद्यार्थीहरूले सुधारको मागसहित प्रदर्शन जारी राखेका छन्।
प्रकाशित मिति: ११ असार २०८३, बिहिबार













प्रतिक्रिया