काराकास । भेनेजुएलामा हालै गएको शक्तिशाली भूकम्पपछि मृत्यु हुनेको सङ्ख्या कम्तीमा १६४ पुगेको छ। कार्यवाहक राष्ट्रपति डोल्सी रोड्रिगेजले बिहीबार बिहान राष्ट्रका नाममा सम्बोधन गर्दै पछिल्लो अद्यावधिक विवरण सार्वजनिक गरेकी हुन्।

सरकारी विवरणअनुसार भूकम्पमा घाइते हुनेको सङ्ख्या ९७१ पुगेको छ। खोज तथा उद्धार कार्य अझै जारी रहेकाले मृतकको सङ्ख्या थप बढ्न सक्ने आशङ्का अधिकारीहरूले गरेका छन्।

advertisement

भूकम्पका कारण धेरै भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन् भने सयौँ संरचनामा गम्भीर क्षति पुगेको छ। भग्नावशेषमा अझै मानिसहरू फसेको हुनसक्ने आशंकामा उद्धार टोलीहरू निरन्तर परिचालित छन्।

रोड्रिगेजका अनुसार मुख्य दुई शक्तिशाली भूकम्पपछि हालसम्म करिब ३० वटा परकम्प रेकर्ड गरिएको छ, जसले प्रभावित क्षेत्रमा त्रास फैलाएको छ र उद्धार कार्यलाई थप कठिन बनाएको छ।

उनले संयुक्त राष्ट्रसंघसँग समन्वय गरी थप उद्धारकर्मी परिचालनको तयारी भइरहेको जानकारी दिइन्। साथै पुनर्निर्माणका लागि प्रारम्भिक रूपमा २० करोड अमेरिकी डलरको कोष स्थापना गर्ने प्रयास भइरहेको पनि उनले बताइन्।

कार्यवाहक राष्ट्रपतिले निजी क्षेत्रलाई भारी उपकरण र मेसिनरी उपलब्ध गराएर उद्धार अभियानमा सहयोग गर्न आग्रह गरेकी छन्। विशेष गरी भग्नावशेष हटाउने र फसेका व्यक्तिको खोजीका लागि ती उपकरण अत्यावश्यक रहेको उनले उल्लेख गरिन्।

रोड्रिगेजले नागरिकहरूलाई सुरक्षित स्थानमा रहन र शान्त रहन आग्रह गर्दै राष्ट्रिय एकता र संयम आवश्यक रहेको बताएकी छन्।

प्रकाशित मिति: ११ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com