काठमाडौं। युरोपका विभिन्न मुलुकमा फैलिएको भीषण गर्मी को लहरले जनजीवन अस्तव्यस्त बनेको छ। तापक्रमले नयाँ कीर्तिमान बनाउन थालेपछि फ्रान्स, इटाली, स्पेन, बेलायत र जर्मनीलगायत देशहरूले उच्च सतर्कता अपनाउँदै आपत्कालीन चेतावनी जारी गरेका छन्।

फ्रान्समा मात्रै अत्यधिक गर्मीका कारण हालसम्म ५८ जनाको मृत्यु भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गर्मीबाट राहत पाउन मानिसहरू नदी, ताल र नहरतर्फ जाने क्रम बढेको छ। यस क्रममा पछिल्ला केही दिनमा डुबेर ४० जनाले ज्यान गुमाएका छन्, जसमा अधिकांश युवा रहेका छन्।

advertisement

त्यसैगरी, अत्यधिक तापका कारण दुई बालबालिकासहित १८ जनाको मृत्यु भएको पुष्टि भएको छ। फ्रान्सको गल्फेस आणविक ऊर्जा केन्द्र पनि गर्मीका कारण अस्थायी रूपमा बन्द गरिएको छ। केन्द्रलाई चिस्याउन प्रयोग हुने गारोन नदीको तापक्रम २८ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको छ।

फ्रान्ससहित २६ युरोपेली मुलुक अहिले गर्मीको चपेटामा छन्। स्पेन, इटाली र बेलायतलगायत १४ देशमा उच्च जोखिम सूचक रातो चेतावनी जारी गरिएको छ। तीमध्ये धेरै स्थानमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान छ।

फ्रान्स सरकारले रातो चेतावनी जारी गरिएका क्षेत्रमा सार्वजनिक स्थानमा मदिरा सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ। स्वास्थ्य सेवामाथि परेको चाप कम गर्न तथा आपत्कालीन उपचारलाई प्रभावकारी बनाउन यस्तो निर्णय गरिएको जनाइएको छ।

फ्रान्सका प्रधानमन्त्री सेबास्टिन लेकोर्नुले उच्चस्तरीय आपत्कालीन बैठकपछि सम्भावित स्वास्थ्य संकट र सार्वजनिक अव्यवस्था रोक्न सार्वजनिक कार्यक्रममा मदिरा निषेध गर्ने निर्णय सुनाएका छन्। फ्रान्सका आधाभन्दा बढी प्रशासनिक क्षेत्रलाई रातो सतर्कतामा राखिएको छ, जहाँ तापक्रम ४२ डिग्री सेल्सियससम्म पुग्न सक्ने अनुमान गरिएको छ।

अत्यधिक गर्मीका कारण सयौँ विद्यालय बन्द गरिएका छन् भने रेल सेवासमेत प्रभावित बनेका छन्। फलामे लिकमा क्षति पुग्ने जोखिम र विद्युत् प्रणालीमा बढ्दो दबाबका कारण रेल सञ्चालन तालिका कटौती गरिएको छ।

स्पेनमा तापक्रम ४४ डिग्री सेल्सियससम्म पुगेको छ। यस वर्षको पहिलो औपचारिक गर्मी लहर घोषणा गर्दै स्पेनले बास्क क्षेत्रलगायत धेरै स्थानमा खेलकुद तथा सांस्कृतिक कार्यक्रम स्थगित गरेको छ। म्याड्रिडमा विश्वकप फुटबलको सार्वजनिक प्रदर्शनसमेत रद्द गरिएको छ।

इटालीका रोम, मिलान, टुरिन, र फ्लोरेन्स सहित आठ सहरमा रातो चेतावनी जारी गरिएको छ। पर्यटकहरू प्रसिद्ध फोहरामा शरीर भिजाएर गर्मीबाट राहत लिने प्रयास गरिरहेका छन्। केही क्षेत्रमा दिउँसो बाहिरी काममा समेत रोक लगाइएको छ।

बेलायतको मौसम कार्यालयले दक्षिणी इङ्गल्याण्ड र वेल्सका अधिकांश क्षेत्रमा अत्यधिक गर्मीको चेतावनी जारी गरेको छ। तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान गरिएको छ। रातिको समयमा समेत तापक्रम २० डिग्री सेल्सियसभन्दा तल नझर्ने अवस्था देखिएको छ।

जर्मनीमा गर्मीसँगै आर्द्रता बढेकाले शक्तिशाली आँधीबेहरीको चेतावनी दिइएको छ। खराब मौसमका कारण बर्लिन ओपन टेनिस प्रतियोगिताको फाइनल खेलसमेत स्थगित गरिएको थियो।

विश्व स्वास्थ्य संगठनको युरोप कार्यालयका अनुसार पछिल्ला चार वर्षमा युरोपमा गर्मीका कारण दुई लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण यस्ता गर्मीका घटना झन् तीव्र, लामो र बारम्बार दोहोरिने चेतावनी दिएका छन्।

फ्रान्सेली अधिकारीहरूले विशेषगरी ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीलाई घरभित्र बस्न तथा प्रशस्त पानी पिउन आग्रह गरेका छन्। अत्यधिक गर्मीकै कारण डढेलोको जोखिम पनि बढेको छ। त्यसका लागि फ्रान्सले सेना र आपत्कालीन उद्धार संयन्त्रलाई उच्च सतर्कतामा राखेको छ।

सरकारले नागरिकलाई बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म प्रत्यक्ष घाममा ननिस्कन, हल्का सुतीका कपडा लगाउन र स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न निरन्तर आग्रह गरिरहेको छ।

प्रकाशित मिति: ११ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com