चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री पदका उम्मेदवार गणेश कार्कीले उम्मेदवारी फिर्ता लिएर अर्को उम्मेदवारको पक्षमा समर्थन घोषणा गर्ने अभ्यासप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै कार्कीले महाधिवेशन उद्घाटनका क्रममा पार्टी सभापतिले व्यक्त गरेको भनाइ र पछिल्ला घटनाक्रमबीच स्पष्ट विरोधाभास देखिएको बताएका हुन्।

advertisement

उनले महाधिवेशन उद्घाटनका बेला सभापतिले ‘अर्काको पक्षमा भोट माग्ने व्यक्ति रास्वपाको पक्का सदस्य हुन सक्दैन’ भन्ने सन्देश दिएको स्मरण गराउँदै त्यसलगत्तै केही उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएर अर्को उम्मेदवारलाई समर्थन गर्नु नेतृत्वकै भनाइसँग मेल नखाने टिप्पणी गरेका छन्।

कार्कीले यस्तो अभ्यासले रास्वपाले विगतदेखि आलोचना गर्दै आएको गठबन्धन र प्यानल संस्कृतिको झल्को दिने दाबी गर्दै यसले पार्टीको मौलिक राजनीतिक चरित्रमाथि प्रश्न उठाउने बताएका छन्।

उनका अनुसार निर्वाचन हार–जितको विषय मात्र भए पनि पार्टीको विधि, नीति र संगठनात्मक संस्कार दीर्घकालीन विषय भएकाले त्यसलाई जोगाउने जिम्मेवारी नेतृत्वको हो। नेतृत्वले कुनै पनि अवस्थामा गुट निर्माण वा जालझेलको अभ्यासलाई प्रश्रय दिन नहुने उनको भनाइ छ।

महाधिवेशन प्रतिनिधिहरू समय, श्रम र आर्थिक खर्च गरेर लोकतान्त्रिक प्रक्रियामा सहभागी भएको उल्लेख गर्दै कार्कीले उनीहरूको स्वतन्त्र रूपमा मताधिकार प्रयोग गर्ने अधिकार कुनै पनि बहानामा प्रभावित हुन नहुने धारणा राखेका छन्।

रास्वपाका केही महामन्त्री पदका उम्मेदवारले उम्मेदवारी फिर्ता लिँदै विपिन कुमार आचार्यलाई समर्थन गर्ने घोषणा गरेपछि कार्कीले उक्त धारणा सार्वजनिक गरेका हुन्।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com