चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री पदका उम्मेदवार मनिष झाले महाधिवेशनको निर्वाचन प्रक्रियामा गुटबन्दीको प्रयास भएको आरोप लगाउँदै त्यसमा संलग्नमाथि कारबाही गर्न पार्टी सभापति रवि लामिछानेलाई आग्रह गरेका छन्।
शुक्रबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै झाले पार्टीले अस्वीकार गर्दै आएको समूहगत अभ्यास महाधिवेशनमै देखिएको भन्दै त्यसप्रति असन्तुष्टि जनाए।
‘जे गर्नु हुँदैन भनेर भनिएको थियो, अन्ततः त्यही भइरहेको देखियो,’ उनले भने, ‘लोकतान्त्रिक प्रक्रियामा समूह बनाएर उम्मेदवारलाई समर्थन गर्ने अभ्यास पार्टी नेतृत्वले सार्वजनिक रूपमा व्यक्त गरेको मूल्य र मान्यताविपरीत छ।’
झाले संस्थापन पक्ष नै एकजुट भएर निश्चित उम्मेदवारको पक्षमा उभिएको आरोप लगाउँदै सभापति लामिछानेलाई गुटबन्दीको प्रयासमा संलग्न व्यक्तिमाथि आवश्यक कारबाही गर्न आग्रह गरे।
‘यदि संस्थापन पक्ष नै समूह बनाएर अघि बढेको हो भने म यहीबाट आदरणीय रवि लामिछानेज्यूलाई आग्रह गर्छु, गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गर्नुस्,’ उनले भने।
रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केही उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर एउटै उम्मेदवारलाई समर्थन गरेपछि पार्टीभित्र समूहगत अभ्यासबारे बहस तीव्र बनेको छ।
प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार













प्रतिक्रिया