स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–७ अन्तर्गत लभ्लीडाँडास्थित मिर्दी–चापाकोट सडक खण्डमा शुक्रबार बोलेरो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।

ताप्केबाट वालिङतर्फ आउँदै गरेको बिएए ७९०५ नम्बरको डबल क्याप बोलेरो सडकबाट पल्टिँदा वालिङ–७ निवासी २५ वर्षीय राजेन्द्र बिरकट्टाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

advertisement

प्रहरीका अनुसार जिपमा चालकसहित २२ जना सवार थिए। दुर्घटनापछि घाइते सबैलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पुर्‍याएर प्रारम्भिक उपचार गरिएको थियो। थप उपचार आवश्यक परेकामध्ये १७ जनालाई पोखरा र दुई जनालाई बुटवल रिफर गरिएको छ। एक बालकको भने वालिङमै उपचार भइरहेको छ।

पोखरा पठाइएका घाइतेमध्ये वालिङ–७ की ४६ वर्षीया रुपकला सारू, रुपन्देहीकी ५५ वर्षीया सुमित्रा गुरुङ र नवलपरासी (पूर्व) की ४१ वर्षीया मायादेवी सुनारीको अवस्था गम्भीर रहेको अस्पताल स्रोतले जनाएको छ। उनीहरूको टाउको, अनुहार र छातीमा गम्भीर चोट लागेको बताइएको छ।

अन्य घाइतेहरूको अवस्था मध्यम रहेको र उनीहरूको पोखरा तथा बुटवलका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न जिपका चालक वालिङ–७ निवासी २८ वर्षीय मीनबहादुर सारूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

प्रकाशित मिति: १२ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com