काठमाडौं। युरोपका विभिन्न देशमा फैलिएको भीषण तापलहरले जनजीवन अस्तव्यस्त बनेको छ। जर्मनी, बेल्जियम र नेदरल्यान्ड्समा जुन महिनाकै उच्च तापक्रमको नयाँ कीर्तिमान कायम भएको छ भने गर्मीका कारण मृत्यु हुनेको सङ्ख्या निरन्तर बढिरहेको छ।

स्पेनमा आइतबारदेखि बिहीबारसम्म मात्रै गर्मीसँग सम्बन्धित कारणले ३२७ जनाको मृत्यु भएको छ। फ्रान्समा पनि तापलहरका कारण स्वास्थ्य संकट गहिरिँदै गएको छ।

advertisement

जर्मनीको सारब्रुकेन सहरमा ४१ दशमलव ३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ, जुन प्रारम्भिक विवरणअनुसार त्यहाँको इतिहासकै उच्च तापक्रममध्ये एक हो। नेदरल्यान्ड्सको लिम्बर्ग क्षेत्रमा ३९ दशमलव ४ डिग्री तथा बेलायतको सफोकमा ३७ दशमलव १ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ।

विश्व मौसम सङ्गठनकी प्रवक्ता क्लेयर नुलिसले तापलहरले स्वास्थ्य, कृषि, वातावरण र श्रम क्षेत्रमा गम्भीर असर पारिरहेको चेतावनी दिएकी छन्।

अत्यधिक गर्मीका कारण युरोपभर सार्वजनिक कार्यक्रमहरू रद्द हुन थालेका छन्। पेरिसमा हुने ठूला सांस्कृतिक कार्यक्रम स्थगित गरिएका छन् भने जर्मनीमा ह्याम्बर्ग हाफ म्याराथनसहित धेरै सार्वजनिक कार्यक्रम रद्द भएका छन्।

स्विट्जरल्यान्डमा आरे नदीको पानी अत्यधिक तातिएपछि बेजनाउ आणविक ऊर्जा केन्द्रका दुवै रिएक्टर अस्थायी रूपमा बन्द गरिएको छ।

विशेषज्ञहरूका अनुसार जलवायु परिवर्तनका कारण युरोप विश्वकै सबैभन्दा छिटो तातिरहेको महादेश बनेको छ। तापक्रम वृद्धि विश्व औसतको तुलनामा करिब दोब्बर गतिमा भइरहेको जनाइएको छ।

अत्यधिक गर्मीका कारण डढेलोको जोखिम पनि बढेको छ। स्पेनको बार्सिलोनानजिक डढेलो फैलिएपछि हजारौँ मानिसलाई घरभित्रै बस्न निर्देशन दिइएको छ।

विशेषज्ञहरूले आगामी दिनमा पनि उल्लेखनीय राहतको सम्भावना नरहेको बताएका छन्। वृद्धवृद्धा, बालबालिका र दीर्घरोगीलाई विशेष सावधानी अपनाउन, प्रशस्त पानी पिउन तथा अत्यधिक घामबाट जोगिन आग्रह गरिएको छ।

प्रकाशित मिति: १३ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com