काठमाडौं। दाङको तुलसीपुर उपमहानगरपालिका–१९ की २६ वर्षीया कमला खड्का वली हत्या प्रकरणमा उच्च अदालत तुलसीपुरले नेपाल सरकारका लेखा अधिकृत रहेका उनका श्रीमान् गोपाल वलीसहित चारै जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश नरबहादुर खड्काको संयुक्त इजलासले बिहीबार जिल्ला अदालत दाङको अघिल्लो आदेश बदर गर्दै गोपाल वलीका बुवा कर्णबहादुर वली, भाउजू टीका केसी र बहिनी पुतला वलीलाई पनि थुनामै राख्न आदेश दिएको हो।

advertisement

यसअघि जिल्ला अदालत दाङले गोपाल वलीलाई मात्र थुनामा पठाउने तथा अन्य तीन जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। त्यसविरुद्ध पीडित पक्षले उच्च अदालतमा पुनरावेदन गरेको थियो।

उच्च अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ अनुसार उपलब्ध प्रमाण, घटनाको प्रकृति र परिस्थितिका आधारमा सबै प्रतिवादीलाई थुनामै राखी मुद्दाको अन्तिम टुङ्गो लगाउनुपर्ने निष्कर्ष निकालेको छ।

गत चैत १२ गते बेलुका घरको भान्साकोठामा कमलामाथि कुटपिट भइरहेका बेला घरमा रहेका अन्य सदस्यले बचाउने प्रयास नगरेको आरोप सुरुदेखि नै लाग्दै आएको थियो। स्थानीयका अनुसार कमला र उनका नाबालक छोराछोरीले हारगुहार गर्दा पनि कसैले हस्तक्षेप गरेका थिएनन्।

छिमेकीहरू उद्धारका लागि घरभित्र पस्न खोज्दा कर्णबहादुर वली लाठी लिएर छतमा उभिएको र कसैलाई भित्र जान नदिएको आरोप पनि लागेको थियो। प्रहरी अनुसन्धानका क्रममा यस्ता विवरण पुष्टि भएको जनाइएको छ।

गम्भीर घाइते भएकी कमलालाई उनका नाबालक छोराले घिसार्दै घरबाहिर ल्याएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। कमला र गोपालका एक छोरा र एक छोरी छन्।

शव परीक्षण प्रतिवेदनमा टाउकोमा लागेको गम्भीर चोटका कारण कमलाको मृत्यु भएको उल्लेख छ। घटनास्थलबाट चार टुक्रा दाउरा बरामद भएको र मृतकको शरीरका विभिन्न भागमा गम्भीर चोटपटक देखिएको तथ्यलाई अदालतले महत्वपूर्ण प्रमाणका रूपमा लिएको छ।

उच्च अदालतको पछिल्लो आदेशसँगै अब चारै जना प्रतिवादीले थुनामै बसेर मुद्दाको अन्तिम फैसला कुर्नुपर्ने भएको छ।

प्रकाशित मिति: १३ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com