काठमाडौं। नेपाल टेलिकमले आफ्ना प्रिपेड मोबाइल सेवाग्राहीका लागि सब्स्क्रिप्सन मोडेलमा आधारित नयाँ प्याकेज सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले आइतबारदेखि स्वतः नवीकरण (अटो–रिन्यु) हुने व्यवस्था सहित विभिन्न मासिक प्याकेजहरू लागू गरेको हो।
नयाँ व्यवस्थाअनुसार अब ग्राहकले प्रत्येक महिना छुट्टै प्याकेज खरिद गर्नुपर्ने वा बिर्सिँदा सेवा अवरुद्ध हुने समस्या भोग्नुपर्ने छैन। एकपटक सेवा सक्रिय (सब्स्क्राइब) गरेपछि मोबाइलमा पर्याप्त ब्यालेन्स उपलब्ध भएमा हरेक ३० दिनमा प्याकेज स्वतः नवीकरण हुनेछ।
नमस्ते रिकरिङ २९९ प्याक
२९९ रुपैयाँको यस प्याकेजमा ग्राहकले सबै नेटवर्कमा ३०० मिनेट भ्वाइस कल सुविधा प्राप्त गर्नेछन्। साथै, ४ जीबी अल–टाइम डेटा र राति ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न मिल्ने अतिरिक्त २ जीबी नाइट डेटा उपलब्ध हुनेछ। यसका साथै नेपाल टेलिकमकै नेटवर्कमा पठाउन मिल्ने २० वटा एसएमएस पनि समावेश गरिएको छ।
नमस्ते रिकरिङ ४९९ प्याक
४९९ रुपैयाँको यस प्याकेजमा सबै नेटवर्कमा ५०० मिनेट कल सुविधा उपलब्ध छ। डेटा सेवाअन्तर्गत ८ जीबी अल–टाइम डेटा तथा राति ११ बजेदेखि बिहान ६ बजेसम्म प्रयोग गर्न सकिने ४ जीबी नाइट डेटा प्रदान गरिनेछ। यसबाहेक, सबै नेटवर्कमा पठाउन मिल्ने १०० वटा एसएमएस सुविधा पनि समावेश गरिएको छ।
नमस्ते रिकरिङ ७९९ प्याक
७९९ रुपैयाँको यो प्याकेजमा सबै नेटवर्कमा असीमित भ्वाइस कल सुविधा उपलब्ध गराइएको छ। साथै, प्रतिदिन १० जीबीका दरले मासिक कुल ३०० जीबी डेटा तथा ३०० वटा अल–नेट एसएमएस प्रदान गरिने कम्पनीले जनाएको छ।
थप डेटा आवश्यक परे एड-अन सुविधा
थप डेटा आवश्यक पर्ने ग्राहकका लागि कम्पनीले एड-अन प्याकेजसमेत उपलब्ध गराएको छ। सब्स्क्रिप्सन प्याकेज प्रयोग गरिरहेका ग्राहकले आवश्यकता अनुसार अतिरिक्त डेटा खरिद गर्न सक्नेछन्।
यसअन्तर्गत ३० रुपैयाँमा १ दिनका लागि १ जीबी डेटा, ५० रुपैयाँमा ३ दिनका लागि २ जीबी डेटा तथा ९९ रुपैयाँमा ७ दिनका लागि ४ जीबी डेटा प्राप्त गर्न सकिनेछ।
कसरी गर्ने सक्रिय ?
ग्राहकले आफ्नो मोबाइलबाट *१४१५# डायल गरी प्राप्त निर्देशनअनुसार यी प्याकेजहरू खरिद तथा सक्रिय गर्न सक्नेछन्।
नेपाल टेलिकमले ल्याएको यो नयाँ सब्स्क्रिप्सन प्रणालीले सेवाग्राहीलाई थप सहज, व्यवस्थित र झन्झटरहित सेवा अनुभव प्रदान गर्ने विश्वास गरिएको छ।
प्रकाशित मिति: १४ असार २०८३, आइतबार












प्रतिक्रिया