एजेन्सी । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार भएको विमान दुर्घटनामा पाइलटसहित विमानमा सवार सबै ११ जनाको मृत्यु भएको छ।
न्यान्सी–एसे विमानस्थलबाट उडेको विमान टोम्ब्लेन कम्युन नजिकै दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा एक जना पाइलट र १० जना स्काइडाइभरको ज्यान गएको फ्रान्सेली सञ्चारमाध्यमहरूले जनाएका छन्।
दुर्घटनापछि मुर्थे–एट–मोसेलका प्रिफेक्ट यभ सेगुईले उद्धार तथा समन्वय कार्यलाई प्रभावकारी बनाउन विभागीय सञ्चालन केन्द्र तत्काल सक्रिय पारिएको जानकारी दिएका छन्। घटनास्थलमा सबै सम्बन्धित उद्धार, सुरक्षा तथा आपतकालीन सेवा परिचालन गरिएको छ।
राष्ट्रिय प्रहरीले उद्धार कार्यमा अवरोध नहोस् भन्ने उद्देश्यले सर्वसाधारणलाई दुर्घटनास्थल नजिक नजान र सुरक्षा घेरा बाहिर रहन आग्रह गरेको छ।
विमान दुर्घटनाको कारण तत्काल खुल्न नसकेको र सम्बन्धित निकायले घटनाबारे विस्तृत अनुसन्धान सुरु गरेको जनाइएको छ।
प्रकाशित मिति: १४ असार २०८३, आइतबार












प्रतिक्रिया