काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले सांसदका हरेक गतिविधि, व्यवहार र कार्यशैलीलाई जनताले निरन्तर नियालिरहेको उल्लेख गर्दै जनप्रतिनिधिहरू आफ्नो जिम्मेवारीप्रति अझ सचेत, अध्ययनशील र उत्तरदायी बन्नुपर्ने बताएका छन्।
संघीय संसद् सचिवालयले सोमबार प्रतिनिधिसभाका सांसदहरूका लागि आयोजना गरेको दुईदिने संसदीय अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै सभामुख अर्यालले सांसदको भूमिका संसद्भित्रको बहसमा मात्रै सीमित नहुने भन्दै जनविश्वास जोगाउने गरी काम गर्नुपर्नेमा जोड दिए।
उनले प्रतिनिधिसभामा धेरै नयाँ सांसद निर्वाचित भएर आएकाले संसदीय विधि, प्रक्रिया र अभ्यासबारे थप जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताए।
‘संसदीय प्रक्रिया र विधिलाई गहिरोसँग बुझेर आफ्नो भूमिका अझ प्रभावकारी बनाउन यो कार्यक्रम उपयोगी हुनेछ,’ उनले भने, ‘सिकाइलाई व्यवहारमा उतार्न सके संसद्को कामकारबाही अझ गुणस्तरीय र प्रभावकारी बन्नेछ।’
सभामुख डोलप्रसाद अर्यालले जनताबाट निर्वाचित भएपछि सांसदको जीवन निजी दायराबाट सार्वजनिक उत्तरदायित्वमा रूपान्तरण हुने उल्लेख गर्दै आफ्नो अभिव्यक्ति, व्यवहार र निर्णयमा विशेष जिम्मेवारीबोध आवश्यक पर्ने बताए।
उनले कानुन निर्माणको दायित्व सफलतापूर्वक निर्वाह गर्न विगतका सकारात्मक संसदीय अभ्यासबाट सिक्न, पर्याप्त अध्ययन गर्न र प्रविधिको प्रभावकारी प्रयोग गर्न सांसदहरूलाई आग्रह गरे।
कार्यक्रममा संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले सांसदहरूलाई संसदीय प्रक्रिया, विधि र अभ्यासबारे थप दक्ष बनाउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
प्रतिनिधिसभाका सदस्यहरूको संसदीय क्षमता अभिवृद्धि गर्ने लक्ष्यसहित सिंहदरबारस्थित संसद् भवन परिसरमा सोमबारदेखि सुरु भएको उक्त अभिमुखीकरण कार्यक्रम मंगलबारसम्म सञ्चालन हुनेछ।
प्रकाशित मिति: १५ असार २०८३, सोमबार













प्रतिक्रिया