काठमाडौं । नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलाले चुनावी राजनीति र सशस्त्र युद्धबाट उदाएका कम्युनिस्ट नेतृत्वले अन्ततः एउटै राजनीतिक अभ्यास गरेकाले नेपालको वामपन्थी आन्दोलन कमजोर बन्दै गएको टिप्पणी गरेका छन्।
सोमबार पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा लिखित पुस्तक विमोचन कार्यक्रममा बोल्दै बास्तोलाले वाम आन्दोलनभित्र देखिएका वैचारिक अन्योल र राजनीतिक विचलनबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए।
उनले चुनावी प्रक्रियाबाट सरकारको नेतृत्वमा पुगेका माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली तथा जनयुद्धबाट उदाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनार्दन शर्माले अन्ततः समान प्रकारको राजनीतिक अभ्यास गरेकाले जनतामा कम्युनिस्ट आन्दोलनप्रति अन्योल सिर्जना भएको दाबी गरे।
‘चुनावबाट सरकारमा गएका माधव, झलनाथ र केपी ओली तथा युद्धबाट आएका प्रचण्ड र जनार्दनले अन्ततः एउटै काम गरे। यस्तै प्रवृत्ति अन्य देशका कम्युनिस्ट आन्दोलनमा पनि देखियो,’ उनले भने, ‘यसले समाजवाद र बुर्जुवा जनवादबीचको वैचारिक सीमारेखा नै धमिलो बनाइदियो। परिणामस्वरूप जनतामा गम्भीर भ्रम पैदा भयो।’
बास्तोलाले अहिलेको आवश्यकता वाम आन्दोलनको वैचारिक पुनर्समीक्षा गर्दै स्पष्ट राजनीतिक संश्लेषणमार्फत नयाँ ‘ब्रेकथ्रु’ गर्ने रहेको बताए। उनका अनुसार समाजवादको स्पष्ट मार्गचित्र प्रस्तुत गर्न नसक्दा कम्युनिस्ट आन्दोलनले जनविश्वास गुमाउँदै गएको छ।
प्रकाशित मिति: १५ असार २०८३, सोमबार













प्रतिक्रिया