काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकास र किसानका समस्या समाधानलाई उच्च प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्।
राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले कृषि नेपालको अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै किसानको श्रम, पसिना र समर्पणबाट नै देशको खाद्य सुरक्षा र समृद्धिको आधार निर्माण हुने बताएका हुन्।
प्रचण्डले धान रोपाइँको मुख्य समयमा किसानले रासायनिक मल, गुणस्तरीय बीउबिजन, सिँचाइ सुविधा र आवश्यक कृषि सामग्री सहज रूपमा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्न सरकारलाई सुझाव दिएका छन्।
उनले कृषि उत्पादन वृद्धि, किसानको आयस्तर सुधार र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि किसानमैत्री नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए।
“कृषिको आधुनिकीकरण, उत्पादन वृद्धि र किसानको हितलाई केन्द्रमा राखेर नीति कार्यान्वयन गर्न सके मात्रै मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन सकिन्छ,” उनले सन्देशमा उल्लेख गरेका छन्।
पूर्वप्रधानमन्त्री दाहालले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवसले कृषि पेशाप्रतिको सम्मान अभिवृद्धि गर्ने, उत्पादन बढाउने नयाँ संकल्प जगाउने र समग्र कृषि क्षेत्रको विकासमा सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित मिति: १५ असार २०८३, सोमबार













प्रतिक्रिया