काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन (बालेन्द्र) साहले नेवाः सभ्यतासम्बन्धी विश्वविद्यालय स्थापना र वागमती नदीको सफाइका लागि सहकार्य गर्न ललितपुर महानगरपालिकासँग प्रस्ताव गरेका छन् ।
ललितपुर महानगरपालिकाको १०४ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा उनले यी दुवै काम काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका एक्लाएक्लैले गर्न नसक्ने भएकाले सहकार्य अनिवार्य रहेको धारणा राखे ।
मेयर साहले उपत्यकाको कला, संस्कृति र सभ्यता नयाँ पुस्तालाई हस्तान्तरण गर्न र यसलाई अन्तर्राष्ट्रियकरण गर्न पनि नेवाः सम्बन्धी विश्वविद्यालय आवश्यक पर्ने बताए ।
‘ललितपुर महानगरपालिका एकदमै जेठो नगरपालिका भएको हुनाले हाम्रो सम्पदा, संस्कृति अथवा नेवाः सभ्यतासम्बन्धी युनिभर्सिटीका लागि पनि पहल गरिदिन पनि म यहीबाट अनुरोध गर्न चाहन्छु’ उनले कार्यक्रममा भने, ‘त्यसका लागि काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले सहकार्य गरेर गर्नसक्छ ।’
नेवाः सभ्यताको अभिलेखीकरणका लागि पनि यो काम महत्वपूर्ण हुने भन्दै मेयर साहले विश्वविद्यालयका माध्यमबाट यहाँका कला कौशल अन्तर्राष्ट्रियकरण गर्न सकिने धारणा राखे । ‘हाम्रा बाजाहरुलाई डिग्रीको कोर्समा समावेश गर्नसक्छौं । नेवाः सभ्यताभित्र धेरै पक्षहरु छन्, सम्पूर्णलाई मान्छेले पढुन् । नयाँ पुस्ताले त्यो कुरालाई सिक्न पाउन् भन्ने चाहना पनि छ’ उनले भने ।
दुवै महानगरपालिकाले गर्नुपर्ने अर्को महत्वपूर्ण काम वागमतीको स्थायी सरसफाइ हुनुपर्ने पनि मेयर साहले बताए ।
प्रकाशित मिति: २ पुस २०७९, शनिबार
प्रतिक्रिया