काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको जानकारीदेखि विभिन्न मन्त्रालयसँग सम्बन्धित सांसदका प्रश्नको जवाफ र लैङ्गिक हिंसाविरुद्धको सङ्कल्प प्रस्तावसम्मका विषय कार्यसूचीमा समावेश छन्।
संसद् सचिवालयका अनुसार बैठकको प्रारम्भमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्रको व्यहोरा सभासमक्ष प्रस्तुत गर्नेछन्।
त्यसपछि परराष्ट्र मन्त्री शिशिर खनाल तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा राष्ट्रियसभा सदस्यहरूले उठाएका मौखिक प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।
बैठकमा राष्ट्रियसभा सदस्य रेनु चन्दले प्रविधिको दुरुपयोगबाट हुने लैङ्गिक हिंसा रोकथाम, नियन्त्रण तथा महिलाको हक संरक्षण र न्यायमा सहज पहुँच सुनिश्चित गर्न आवश्यक नीतिगत, कानुनी र संस्थागत व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिने उद्देश्यसहितको सङ्कल्प प्रस्ताव पनि प्रस्तुत गर्नेछिन्।
उक्त प्रस्तावमाथि राष्ट्रियसभामा प्रारम्भिक छलफल हुने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: १७ असार २०८३, बुधबार











प्रतिक्रिया