काठमाडौं। चिनियाँ राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी चिनफिङले ताइवानलाई मुख्य भूमि चीनमा विलय गराउने लक्ष्य जुनसुकै मूल्यमा पूरा गर्ने चेतावनी दिएका छन्।
चिनियाँ कम्युनिष्ट पार्टीको १०५औँ स्थापना दिवसका अवसरमा बेइजिङस्थित जनसभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले राष्ट्रिय सार्वभौमसत्ता, सुरक्षा र विकासहितको रक्षाका लागि चीनले हरसम्भव कदम चाल्ने स्पष्ट पारे।
उनले ताइवान समस्या समाधानका लागि रणनीतिक योजना पूर्ण रूपमा कार्यान्वयन गरिने बताउँदै ताइवानको स्वतन्त्रताको पक्षमा उभिने शक्तिहरू तथा बाह्य हस्तक्षेपविरुद्ध कडा कदम चालिने घोषणा गरे।
राष्ट्रपति सी चिनफिङले शक्तिशाली राष्ट्रका लागि बलियो सेना अनिवार्य रहेको उल्लेख गर्दै चिनियाँ जनमुक्ति सेनालाई अझ आधुनिक र सशक्त बनाइने बताए। साथै सेना पूर्ण रूपमा पार्टीको प्रत्यक्ष नेतृत्वमा रहने उनले दोहोर्याए।
आफ्नो शासनकालका उपलब्धि उल्लेख गर्दै उनले चीनको तीव्र औद्योगिकीकरण र आर्थिक विकासलाई विकासोन्मुख राष्ट्रहरूका लागि अनुकरणीय उदाहरणका रूपमा प्रस्तुत गरे।
ताइवान जलडमरूमध्य क्षेत्रमा चीनको सैन्य गतिविधि बढिरहेका बेला आएको यो अभिव्यक्तिलाई क्षेत्रीय तनाव थप चर्किने संकेतका रूपमा हेरिएको छ।
प्रकाशित मिति: १७ असार २०८३, बुधबार












प्रतिक्रिया