मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले समस्याग्रस्त घोषणा गरिएका पाँच सहकारी संस्थाका साना बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया तत्काल सुरु गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
बुधबार हेटौँडामा मुख्यमन्त्री बानियाँको उपस्थितिमा बसेको बैठकले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको बचत फिर्ता गर्न सार्वजनिक सूचना प्रकाशन गरी प्रक्रिया अघि बढाउने निर्णय गरेको हो।
बैठकले हाल व्यवस्थापन प्रक्रियामा रहेका सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, दर्शन बचत तथा ऋण सहकारी लिमिटेड, नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी लिमिटेड, लालीगुराँस बचत तथा ऋण सहकारी लिमिटेड र सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड को सम्पत्ति बिक्री तथा ऋण असुलीबाट प्राप्त रकममार्फत साना बचतकर्ताको बचत फिर्ता गर्ने निर्णय गरेको छ।
निर्णय कार्यान्वयनका लागि तत्काल सूचना प्रकाशित गरी आवश्यक प्रक्रिया अघि बढाउन मुख्यमन्त्री बानियाँले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सहकारी क्षेत्रमा देखिएका समस्या समाधानलाई प्राथमिकतामा राख्न आग्रह गर्दै विभागीय मन्त्रालय तथा सम्बन्धित निकायलाई परिणाममुखी ढङ्गले काम गर्न निर्देशन दिए।
बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कामलाई थप प्रभावकारी र चुस्त बनाउने निर्णय पनि गरेको छ। समितिले आफ्नो प्रगति विवरण प्रत्येक तीन महिनामा सम्बन्धित मन्त्रालयमा अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
त्यसैगरी, प्रदेशभर सञ्चालनमा रहेका सहकारी संस्थाको अनुगमन तथा नियमनलाई थप प्रभावकारी बनाउने र त्यससम्बन्धी त्रैमासिक प्रतिवेदन नियमित रूपमा मन्त्रालयमा पेस गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकले भविष्यमा कुनै पनि सहकारी संस्था वा सङ्घलाई समस्याग्रस्त घोषणा गर्नुअघि पर्याप्त तथ्य, प्रमाण र वस्तुगत आधार सुनिश्चित गरेर मात्र सिफारिस गर्ने नीति अपनाउने निर्णयसमेत गरेको छ।
प्रकाशित मिति: १७ असार २०८३, बुधबार












प्रतिक्रिया