काठमाडौं। विशेष अदालतले वीर अस्पतालका तत्कालीन लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुस लिएको अभियोगमा दोषी ठहर गरेको छ। अदालतले दाहालसँगै घुस दिएको अभियोग लागेका राजेश श्रेष्ठ, प्रल्हाद गौतम र विप्लव पोखरेललाई पनि दोषी ठहर गर्दै सजाय सुनाएको हो।
न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासले नियमअनुसार भुक्तानी गर्नुपर्ने रकम उपलब्ध गराउन गैरकानुनी रूपमा ९३ हजार ८५० रुपैयाँ घुस लिएको अभियोग पुष्टि भएको ठहर गरेको हो।
विशेष अदालतले चारै जनालाई भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत दोषी ठहर गर्दै जनही १ महिना कैद र २३ हजार ४६२ रुपैयाँ ५० पैसा जरिवाना हुने फैसला गरेको छ। अदालतका अनुसार दाहालले सेवा प्रदान गरेबापत उक्त रकम रिसवतस्वरूप लिएको र अन्य तीन जनाले उक्त घुस दिएको तथ्य पुष्टि भएको छ।
प्रकाशित मिति: १७ असार २०८३, बुधबार












प्रतिक्रिया