काठमाडौं। नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्र विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा रिटमाथि सुनुवाइका लागि पेसी तोकिएको हो।

पौडेलकी पत्नी दोमाया पौडेलले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै गत असार १० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएकी थिइन्।

यसअघि न्यायाधीशद्वय टेकप्रसाद ढुङ्गाना र मेघराज पोखरेलको संयुक्त इजलासले विशेष अदालतमा विचाराधीन नेपाल सरकार वादी तथा दीपक भट्टसहित प्रतिवादी रहेको सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल फाइल झिकाउन आदेश दिएको थियो।

त्यस्तै, उच्च अदालत पाटनमा विचाराधीन दीपक भट्टसमेत प्रतिवादी रहेको बैंकिङ कसुरसम्बन्धी मुद्दाको फाइल, काठमाडौं जिल्ला अदालतमा विचाराधीन आशिष श्रेष्ठसमेत प्रतिवादी रहेको बिमा कसुर मुद्दा तथा सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी रहेका धितोपत्र (सेयर) सम्बन्धी दुई छुट्टाछुट्टै मुद्दाका सक्कल फाइलसमेत झिकाउन आदेश गरिएको थियो।

उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको आरोपमा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। त्यसको भोलिपल्ट उनलाई विशेष अदालत, काठमाडौंमा उपस्थित गराइएको थियो।

विशेष अदालतले गत सोमबार पौडेललाई थप तीन दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। अब उनको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले गर्ने आदेशलाई चासोका साथ हेरिएको छ।

प्रकाशित मिति: १८ असार २०८३, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com