काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारको पहिलो १०० दिनको कार्यसम्पादनप्रति मिश्रित प्रतिक्रिया दिएका छन्। सरकारले केही सकारात्मक प्रयास गरे पनि त्यसको प्रत्यक्ष अनुभूति जनताले गर्न नसकेको उनले बताएका छन्।

दार्चुलाको दुर्गम क्षेत्रमा निर्माण गरिएको झोलुंगे पुल उद्घाटन गरेर शुक्रबार काठमाडौं फर्किएका साम्पाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सरकारको कामको मूल्याङ्कन परिणामका आधारमा हुनुपर्ने बताए।

उनले सरकारले विभिन्न क्षेत्रमा काम गर्ने प्रयास गरेको स्वीकार गर्दै त्यसको प्रभाव भने आमजनताले अझै महसुस गर्न नसकेको टिप्पणी गरे।

‘सरकारले प्रयास त गरेको छ, तर त्यसको नतिजा जनताले अनुभूति गर्न सकेका छैनन्। कामको परिणाम नागरिकले प्रत्यक्ष महसुस गर्नुपर्छ,’ उनले भने।

साम्पाङले पछिल्लो समय बढ्दो महँगीलाई जनताको प्रमुख समस्या उल्लेख गर्दै मूल्यवृद्धि नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने सुझाव दिए। महँगी नियन्त्रणका विषयमा आफ्नो पार्टीले सरकारलाई निरन्तर सुझाव दिँदै आएको पनि उनले बताए।

यद्यपि, सरकारले हालै पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेकोप्रति उनले स्वागत जनाउँदै यसले आमउपभोक्तालाई केही राहत पुग्ने विश्वास व्यक्त गरे।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com