धनगढी । बैतडीमा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
शुक्रबार दिउँसो करिब ३ बजे दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ गैराखान क्षेत्रमा धनगढीबाट बैतडी सदरमुकामतर्फ गइरहेको सु.प.प्र. ०१–००१ ख ३९६३ नम्बरको बस अनियन्त्रित भएर सडकबाट करिब ६० मिटर तल खसेको हो।
दुर्घटनापछि स्थानीय बासिन्दा, नेपाल प्रहरी तथा उद्धार टोली तत्काल घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेका थिए। सबै घाइतेलाई उपचारका लागि नजिकैका स्वास्थ्य संस्थामा पठाइएको छ।
प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले उनीहरूको सघन उपचार भइरहेको छ भने अन्य घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको बताइएको छ।
बस दुर्घटनाको कारण भने अझै खुल्न सकेको छैन। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार













प्रतिक्रिया