काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को उपकुलपतिमा प्राध्यापक डा. भोला थापा नियुक्त भएका छन्। प्रधानमन्त्री तथा त्रिविका कुलपति बालेन शाहले उनलाई विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्रदान गरेका हुन्।

डा. थापा यसअघि काठमाडौं विश्वविद्यालय (केयू) का उपकुलपति रहिसकेका अनुभवी शिक्षाविद् हुन्। उनी इन्जिनियरिङ शिक्षा, जलविद्युत् प्रविधि तथा ऊर्जा अनुसन्धानका क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन्।

इन्जिनियरिङ अध्ययन पूरा गरेपछि सरकारी सेवाबाट व्यावसायिक यात्रा सुरु गरेका थापा पछि काठमाडौं विश्वविद्यालयमा उपप्राध्यापकका रूपमा आबद्ध भएका थिए। त्यसपछि उनले प्राध्यापक, सहायक डिन, कार्यकारी डिन र रजिस्ट्रारलगायत विभिन्न जिम्मेवारी सम्हालेका थिए।

२०७७ माघमा उनी काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा नियुक्त भएका थिए। शैक्षिक नेतृत्व र अनुसन्धानमा उनको योगदानलाई उच्च रूपमा मूल्याङ्कन गरिन्छ।

मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका डा. थापाले टर्बाइन रनरसम्बन्धी विषयमा स्नातकोत्तर तथा हाइड्रोलिक मेसिनमा बालुवाका कणका कारण हुने क्षरण (इरोसन) सम्बन्धी विषयमा विद्यावारिधि गरेका छन्।

उनले प्रारम्भिक उच्च शिक्षा अमृत साइन्स क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह पूरा गरेका हुन् भने विद्यालय तहको शिक्षा कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलबाट हासिल गरेका थिए।

प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com