काठमाडौं । संवैधानिक परिषद्ले निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्तसहित दुई आयुक्त पदका लागि नाम सिफारिस गर्ने निर्णय गरेको छ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको परिषद् बैठकले प्रमुख निर्वाचन आयुक्त पदका लागि मानबहादुर कार्कीलाई सिफारिस गर्ने निर्णय गरेको हो। यस्तै, आयोगका रिक्त दुई आयुक्त पदमा गुरुप्रसाद वाग्ले र राजीव सुब्बालाई सिफारिस गरिएको छ।
बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रस्तावित व्यक्तिहरूबारे पर्याप्त छलफल नगरी सिधै सिफारिस प्रक्रिया अघि बढाइएको भन्दै असन्तुष्टि जनाएका थिए।
उनले संवैधानिक निकायका पदाधिकारी सिफारिस गर्दा योग्यता, क्षमता र उपयुक्ततामाथि गम्भीर छलफल हुनुपर्नेमा जोड दिँदै आगामी दिनमा विस्तृत परामर्शपछि मात्र निर्णय प्रक्रिया अघि बढाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन्।
आङ्देम्बेले सरकार र प्रमुख प्रतिपक्षबीच बढ्दो संवादहीनता अन्त्य गरी महत्वपूर्ण संवैधानिक विषयमा निरन्तर संवाद र सहकार्यको वातावरण बनाउन पनि प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।
प्रकाशित मिति: १९ असार २०८३, शुक्रबार













प्रतिक्रिया