काठमाडौं। दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेताडास्थित कर्णाली राजमार्गमा भएको बस दुर्घटनापछि बेपत्ता सवारीसाधन र यात्रुको खोजीका लागि सशस्त्र प्रहरी बलले विशेष टोलीको गोताखोर परिचालन गरेको छ।
सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको नेतृत्वमा चार सदस्यीय गोताखोर टोली शुक्रबार घटनास्थल पुगेको हो। गोताखोर परिचालन टोलीले नदीभित्र खोजीका लागि सोनार क्यामेरा, चुम्बकसहितका विशेष उपकरण प्रयोग गर्ने सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
गत असार १८ गते सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको यात्रुवाहक बस सडकबाट करिब छदेखि सात सय मिटर तल कर्णाली नदीमा खसेको थियो।
दुर्घटनालगत्तै सशस्त्र प्रहरी गुल्म दैलेख, माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेस तथा सशस्त्र प्रहरी बलको नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट गोताखोरसहितको उद्धार टोली परिचालन गरिएको थियो।
दुर्घटनाकै दिन घटनास्थलबाट करिब चार सय मिटर तल भिरमा अड्किएको अवस्थामा एक पुरुषको शव फेला पारिएको थियो। बस र अन्य यात्रुको अवस्था भने अझै अज्ञात रहेकाले खोजी कार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रकाशित मिति: २० असार २०८३, शनिबार













प्रतिक्रिया