काठमाडौं। फिफा विश्वकपमा खेल सञ्चालन गर्ने रेफ्रीहरूले यसपटक आकर्षक पारिश्रमिक पाउने भएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगिताको अन्तिम चरणसम्म पुग्ने मुख्य रेफ्रीले करिब ३ लाख अमेरिकी डलर (झन्डै ४ करोड ५० लाख नेपाली रुपैयाँ) सम्म आम्दानी गर्न सक्नेछन्।

यस संस्करणका लागि फिफाले १७० जना म्याच अफिसियल नियुक्त गरेको छ। तीमध्ये ५२ जना मुख्य रेफ्री, ८८ जना सहायक रेफ्री र ३० जना भिडियो सहायक रेफ्री (भीएआर) रहेका छन्।

फिफाले आधिकारिक रूपमा पारिश्रमिक सार्वजनिक नगरे पनि द टाइम्स लगायत अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रत्येक मुख्य रेफ्रीले सहभागिताबापत मात्रै एक लाख अमेरिकी डलर (करिब १ करोड ५२ लाख रुपैयाँ) प्राप्त गर्नेछन्। यो रकम सन् २०१४ को ब्राजिल विश्वकपको तुलनामा दोब्बर हो। सन् २०२२ को कतार विश्वकपमा मुख्य रेफ्रीलाई ७० हजार अमेरिकी डलर प्रदान गरिएको थियो।

सहभागिता भत्ताबाहेक रेफ्रीहरूले प्रत्येक खेल सञ्चालन गरेबापत थप पारिश्रमिक पनि पाउनेछन्। समूह चरणका खेलका लागि प्रति खेल ३ हजारदेखि ५ हजार अमेरिकी डलर र नकआउट चरणका खेलका लागि १० हजार अमेरिकी डलरसम्म पारिश्रमिक तोकिएको छ।

पूर्व प्रिमियर लिग रेफ्री मार्क क्ल्याटनबर्ग का अनुसार फाइनल खेल सञ्चालन गर्ने मुख्य रेफ्रीले बोनसस्वरूप ६० हजारदेखि ७० हजार अमेरिकी डलरसम्म अतिरिक्त रकम प्राप्त गर्न सक्नेछन्।

यदि कुनै मुख्य रेफ्रीले उत्कृष्ट प्रदर्शन गर्दै फाइनलसम्म खेल सञ्चालन गर्ने अवसर पाएमा उनले यस विश्वकपबाट कुल करिब ३ लाख अमेरिकी डलर, अर्थात् झन्डै साढे ४ करोड नेपाली रुपैयाँ आम्दानी गर्न सक्नेछन्।

मुख्य रेफ्रीको तुलनामा सहायक रेफ्रीहरूको पारिश्रमिक केही कम छ। उनीहरूले प्रतियोगिताभरका लागि करिब २५ हजार अमेरिकी डलर प्राप्त गर्नेछन्। भिडियो सहायक रेफ्री (भीएआर) का लागि भने छुट्टै पारिश्रमिक व्यवस्था गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com