काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीविरुद्ध योजनाबद्ध रूपमा कुप्रचार भइरहेको दाबी गर्दै चुनौतीका बीच पनि एमाले आफ्नो राजनीतिक लक्ष्यबाट विचलित नहुने बताएका छन्।

बागमती प्रदेश जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले आफ्नो राजनीतिक यात्रामा पटक–पटक कठिन परिस्थिति र ठूला चुनौतीको सामना गरेको स्मरण गराए। यस्ता अवरोधलाई पार गर्दै पार्टी निरन्तर अघि बढिरहेको उनको भनाइ थियो।

‘नदी सधैंँ सीधा बग्दैन। कहिले एकातिरको किनारमा ठोक्किन्छ, कहिले अर्कोतिर मोडिन्छ, तर अन्ततः आफ्नो गन्तव्यतर्फ अघि बढिरहन्छ। एमालेको यात्रा पनि त्यस्तै हो। अनेक अवरोध र प्रहारका बीच हामी आफ्नो उद्देश्यबाट पछि हट्नेवाला छैनौँ,’ उनले भने।

अध्यक्ष ओलीले वर्तमान अवस्थामा पार्टीले गम्भीर राजनीतिक चुनौती सामना गरिरहेको उल्लेख गर्दै यसलाई कार्यकर्ताका लागि धैर्य, साहस र प्रतिबद्धताको परीक्षा भएको बताए।

चिनियाँ नेता माओ त्सेतुङको भनाइ उद्धृत गर्दै उनले कठिन परिस्थितिमा मात्रै वास्तविक साहसको परीक्षा हुने बताए। सहज अवस्थामा सबैले आत्मविश्वास देखाउन सक्ने भए पनि अप्ठ्यारो समयमा दृढतापूर्वक उभिन सक्ने व्यक्ति नै सच्चा सङ्घर्षशील हुने उनको धारणा थियो।

उनले पार्टीका नेता–कार्यकर्तालाई निराश नहुन आग्रह गर्दै सबै चुनौतीको सामना गर्दै थप दृढताका साथ अघि बढ्न आह्वान गरे। एमालेले कुप्रचार र राजनीतिक आक्रमणलाई परास्त गर्दै आफ्नो अभियानलाई निरन्तर अघि बढाउने उनको विश्वास थियो।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com