काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो १०० दिनको कार्यकालप्रति असन्तुष्टि जनाउँदै सरकार राष्ट्रिय स्वाधीनता, सुशासन, आर्थिक सुधार र जनजीविकाका सवालमा अपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको छ।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष सन्तोष परियारले सरकारको नीति, प्राथमिकता र कार्यशैलीले मुलुकलाई अपेक्षित उपलब्धि दिन नसकेको दाबी गरे। उनले पहिलो सय दिनमै सरकारको कार्यदिशा स्पष्ट भएको उल्लेख गर्दै यस अवधिले सरकारप्रति जनताको आशा कमजोर बनाएको टिप्पणी गरे।

परियारले सरकारले आर्थिक संकट समाधान, रोजगारी सिर्जना, उत्पादन वृद्धि, महँगी नियन्त्रण, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहमा उल्लेखनीय उपलब्धि हासिल गर्न नसकेको आरोप लगाए। भ्रष्टाचार नियन्त्रण र प्रशासनिक सुधारका क्षेत्रमा पनि सरकार प्रभावकारी देखिन नसकेको उनको भनाइ थियो।

भूमिहीन तथा सुकुम्बासी बस्ती व्यवस्थापन र सवारी सुरक्षासम्बन्धी सरकारी नीतिको आलोचना गर्दै उनले पर्याप्त विकल्पबिना सुकुम्बासीलाई विस्थापित गरिएको तथा सवारी सुरक्षाको नाममा जनतामाथि कठोर जरिवाना लगाउने नीति अवलम्बन गरिएको दाबी गरे। यस्ता कदमले सरकार अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको संकेत गरेको उनको आरोप थियो।

पत्रकार सम्मेलनमा पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङले नेपालले भारतीय भूमि अतिक्रमण गरेको भन्ने सरकारी अभिव्यक्तिको आलोचना गर्दै त्यसले राष्ट्रिय हित विपरीत सन्देश दिएको दाबी गरे।

त्यसैगरी, पार्टीका युवा नेता जटिल कार्कीले सात दशकभन्दा लामो राजनीतिक संघर्ष, जनआन्दोलन र संविधानमार्फत स्थापित लोकतान्त्रिक मूल्य, समावेशिता, सामाजिक न्याय तथा संवैधानिक व्यवस्थालाई कमजोर पार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने चेतावनी दिए।

प्रकाशित मिति: २१ असार २०८३, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com