काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसलाई मात्र फाइदा भएको बताएका छन्।
एकीकृत समाजवादीका नवनिर्वाचित सांसदलाई बधाइ तथा शुभकामना दिन सोमबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो अभिव्यक्ति दिएका हुन्। उनले प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावको गम्भीर समीक्षा गरेर अघि बढ्नुपर्नेमा जोड दिए।
यो चुनावले कुनै पनि पार्टीलाई बहुमत नदिएको भए पनि कांग्रेसलाई फाइदा भएको उनको भनाइ थियो। “चुनावले कुनै एउटा पार्टीलाई बहुमत दिएको छैन,” अध्यक्ष नेपालले भने, “अरू जम्मै पार्टीले नोक्सानी बेहोरे, फाइदा लियो नेपाली कांग्रेसले।”
उनले यसलाई स्वाभाविक रुपमा लिनुपर्ने बताए। यससँगै नयाँ शक्ति पनि आएकाले सबैको समीक्षा गरेर अघि बढ्नुपर्ने बताए।
उनले गठबन्धन कायमै रहने बताए। “गठबन्धनलाई कायम राख्नेछौं। गठबन्धनकै सरकार बन्ने आशा गरेका छौं,” नेपालले भने, “गठबन्धनमा रहेका अरू दलका नेतामा अंहकार छ भने उनीहरूलाई चाहिएको छैन भने जस्तो परिस्थित आइलाग्छ, त्यसको सामना गर्न तयार छौं।”
उनले गैरवामपन्थी वा वामपन्थी सरकार भ्रम मात्रै भएको बताए। “कसैले गैरवामपन्थी सरकारको कुरा उठाउने गरेको छ, त्यो पनि खयाली पुलाव मात्रै हो। कसैले वामपन्थीको मात्रै सरकार बनाउ भनेर सोचिरहेको छ, त्यो अलमल ल्याउने कुरा मात्रै हो,” उनले भने।
अध्यक्ष नेपालले एमाले नेतृत्व सुध्रिएमा सँगसँगै जानसक्ने संकेत गरे। “एकातिर हामीले मित्रहरूको खोजी र पहिचान पनि गर्नुपर्छ,” नेपालले भने, “मान्छेमा परिवर्तन, रुपान्तरण भइरहेको छ भने, आत्मालोचना देखिएको छ भने साच्चै सुध्रिएको अवस्था देखिएको छ भने आग्रह पालेर नबस्ने।”
प्रकाशित मिति: ४ पुस २०७९, सोमबार
प्रतिक्रिया