काठमाडौं । नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकार सही दिशा र लोकतान्त्रिक अभ्यासबाट विचलित भएको टिप्पणी गरेका छन्।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै आङ्देम्बेले कुनै पनि गन्तव्यमा पुग्न सही मार्ग अपनाउनुपर्ने उल्लेख गर्दै सरकारले परिणामभन्दा प्रक्रिया र लोकतान्त्रिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
उनले प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने संवैधानिक दायित्व सम्झाउँदै सत्तामा पुगेपछि संसद्को भूमिकालाई बेवास्ता गर्न नहुने धारणा राखे।
‘धुरीमा चढेपछि सिँढी बिर्सिनु हुँदैन। प्रधानमन्त्री सत्तामा पुग्ने आधार संसद् हो। त्यसैले संसद्को सम्मान र उत्तरदायित्वलाई कहिल्यै कमजोर पार्नु हुँदैन,’ उनले भने।
आङ्देम्बेले प्रधानमन्त्री संसद्मा उपस्थित भएर जवाफदेही बन्नुभन्दा सामाजिक सञ्जालमा लोकप्रियता हासिल गर्न बढी केन्द्रित भएको आरोप लगाए। लोकतान्त्रिक व्यवस्थामा लोकप्रिय हुनु र उत्तरदायी हुनु फरक विषय भएको उल्लेख गर्दै उनले सामाजिक सञ्जालमा चर्चित हुनु मात्र प्रभावकारी नेतृत्वको मापदण्ड बन्न नसक्ने बताए।
उनले प्रधानमन्त्रीलाई मुलुकको नेतृत्व अत्यन्त जिम्मेवारीपूर्वक गर्न सुझाव दिँदै देश सञ्चालनलाई तीव्र गतिमा अघि बढाउँदा पनि पर्याप्त सतर्कता अपनाउन आग्रह गरे।
‘देशलाई अगाडि बढाउन गति आवश्यक छ, तर त्यो सुरक्षित र सही दिशामा हुनुपर्छ। नेतृत्वको एउटा गलत निर्णयले प्रधानमन्त्री मात्र होइन, सिंगो मुलुकलाई संकटमा पार्न सक्छ,’ उनले चेतावनी दिए।
प्रकाशित मिति: २२ असार २०८३, सोमबार













प्रतिक्रिया