काठमाडौं। अमेरिकाको डलासमा सोमबार राति सम्पन्न फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गतको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा स्थान बनाएको छ। इन्जुरी समयसम्म गोलरहित रहेको खेलमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई अन्तिम आठमा पुर्‍याएका हुन्।

खेलभर दुवै टोलीले आक्रामक प्रदर्शन गरे पनि निर्धारित ९० मिनेटसम्म गोल हुन सकेन। अतिरिक्त समयतर्फ जाने संकेत देखिएको अवस्थामा इन्जुरी समयमा मेरिनोले गरेको उत्कृष्ट प्रहार नै स्पेनको जितको आधार बन्यो। सन् २०१० मा विश्वकप जितेपछि पहिलो पटक स्पेन क्वाटरफाइनल पुग्न सफल भएको हो।

यस हारसँगै पोर्चुगलको विश्वकप यात्रा समाप्त भएको छ भने ४१ वर्षीय कप्तान क्रिस्टियानो रोनाल्डोको विश्वकप करिअर पनि अन्त्य भएको छ। खेलपछि भावुक बनेका रोनाल्डोले यो आफ्नो अन्तिम विश्वकप भएको पुष्टि गर्दै टोलीका लागि सक्दो योगदान दिएको बताए। उनले अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल संन्यासबारे भने कुनै निर्णय नगरेको स्पष्ट पारे।

विश्वकप इतिहासमा रोनाल्डोले लगातार ६ फरक संस्करण (२००६, २०१०, २०१४, २०१८, २०२२ र २०२६) मा गोल गर्ने एकमात्र खेलाडीको कीर्तिमान बनाएका छन्। उनले पोर्चुगलका लागि विश्वकपमा २७ खेल खेल्दै ११ गोल गरेका छन्। यस संस्करणमा नकआउट चरणमा गोल गर्दै उनी विश्वकप इतिहासकै सबैभन्दा पाका गोलकर्तामध्ये एक बने।

यता, प्रतियोगिताबाट बाहिरिएसँगै पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पदबाट राजीनामा दिएका छन्। उनले यो हारसँगै टोलीको एउटा सफल युगको अन्त्य भएको बताएका छन्। रोनाल्डोले भने क्लब फुटबलमा साउदी अरेबियाको अल–नास्रबाट आफ्नो यात्रा निरन्तरता दिने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २३ असार २०८३, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com