काठमाडौं । सरकारले निजामती कर्मचारीहरूको आचरण, अनुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित ‘कर्मचारीले पालना गर्नुपर्ने आचारसंहिता, २०८३’ लागू गरेको छ।
नयाँ आचारसंहिताअनुसार कर्मचारीहरूले कार्यालयको पोसाकमा वा कार्यालयको काममा खटिएको अवस्थामा खिचिएका फोटो तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्न नपाउने व्यवस्था गरिएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत जारी गरिएको आचारसंहिता मन्त्री स्तरको असार १६ गतेको निर्णयबाट स्वीकृत भएको हो। उक्त आचारसंहिता असार २२ गतेदेखि कार्यान्वयनका लागि सम्बन्धित महाशाखा तथा निकायहरूमा पठाइएको मन्त्रालयले जनाएको छ।
आचारसंहितामा कर्मचारीले कार्यालय परिसर वा फिल्डमा सरकारी काममा खटिएको बेला कार्यालयको पोसाकमा खिचिएका फोटो वा भिडियो फेसबुक, टिकटक, एक्स (ट्विटर), ह्वाट्सएपलगायत सामाजिक सञ्जालमा राख्न नपाउने स्पष्ट व्यवस्था गरिएको छ। यद्यपि, शिक्षामूलक वा सूचनामूलक उद्देश्यका सामग्रीका हकमा भने यो व्यवस्था लागू नहुने उल्लेख गरिएको छ।
त्यसैगरी, सामाजिक सञ्जाल प्रयोग गर्दा सरकारी सेवाको मर्यादा, निष्पक्षता र जनविश्वासमा आँच पुग्ने गतिविधिबाट टाढा रहन कर्मचारीलाई निर्देशन दिइएको छ। सरकारको नीति तथा कार्यक्रमको प्रतिकूल हुने गरी लेख, टिप्पणी वा सार्वजनिक अभिव्यक्ति दिनसमेत आचारसंहिताले रोक लगाएको छ।
नयाँ व्यवस्थाअनुसार कर्मचारीहरूले कार्यस्थलबाहिर सेवाग्राहीसँग व्यक्तिगत भेटघाट गर्न पाउने छैनन्। कुनै पनि सेवाग्राहीको प्रतिनिधि वा एजेन्टका रूपमा काम गर्न नपाइने तथा आफ्नो पद र अधिकारको दुरुपयोग गरी व्यक्तिगत वा पारिवारिक लाभ लिनसमेत निषेध गरिएको छ।
सरकारले नयाँ आचारसंहिताले कर्मचारीको व्यावसायिक आचरणलाई थप मर्यादित, पारदर्शी र उत्तरदायी बनाउँदै सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।
प्रकाशित मिति: २५ असार २०८३, बिहिबार













प्रतिक्रिया