एजेन्सी । फिफा विश्वकप २०२६ अन्तर्गत क्वार्टरफाइनलमा शनिबार बिहान इङ्ल्यान्ड र नर्वेबीच रोचक प्रतिस्पर्धा हुँदैछ। अमेरिकाको मायामीस्थित हार्ड रक स्टेडियममा हुने यो खेलले सेमिफाइनल पुग्ने टोलीको टुंगो लगाउनेछ। दुवै टोली उत्कृष्ट लयमा रहेकाले खेललाई यस चरणकै सबैभन्दा आकर्षक प्रतिस्पर्धामध्ये मानिएको छ।
प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा रहेको इङ्ल्यान्डले अन्तिम १६ मा आयोजकमध्ये एक मेक्सिकोलाई ३–२ गोलले हराउँदै अन्तिम आठमा स्थान बनाएको हो। सो खेलमा जुड वेलिङ्घमले दुई गोल गर्दा कप्तान हेरी केनले एक गोल थपेका थिए। खेलको अन्त्यतिर १० खेलाडीमा सीमित हुँदा पनि इङ्ल्यान्डले दबाब झेलेर जित सुरक्षित राखेको थियो।
इङ्ल्यान्डका लागि भने केही खेलाडीको फिटनेस चिन्ताको विषय बनेको छ। डेक्लान राइस, मार्क गुएही र रिस जेम्सले टोलीसँग पूर्ण प्रशिक्षण नगरेको जनाइएको छ भने डिफेन्डर जारेल क्वान्साह रातो कार्डका कारण यस खेलमा उपलब्ध हुने छैनन्। यद्यपि केन, वेलिङ्घम र बुकायो साकाजस्ता अनुभवी खेलाडीको उपस्थितिले इङ्ल्यान्डलाई बलियो बनाएको छ।
नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ ले पराजित गर्दै इतिहासमै पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको हो। टोलीका स्टार फरवार्ड एर्लिङ हालान्ड उत्कृष्ट लयमा छन्। उनले चार खेलमा सात गोल गर्दै प्रतियोगिताका सर्वाधिक गोलकर्तामध्ये एकका रूपमा आफूलाई स्थापित गरेका छन्। कप्तान मार्टिन ओडेगार्डको मिडफिल्ड नियन्त्रण र टोलीको सामूहिक प्रदर्शन नर्वेको मुख्य हतियार बनेको छ।
नर्वेका प्रशिक्षक स्टाले सोलबाकेन पनि सुरुवाती ११ छनोटलाई लिएर दुविधामा छन्। ब्राजिलविरुद्ध दोस्रो हाफमा प्रभावशाली प्रदर्शन गरेका ओस्कार बोब र एन्ड्रियास स्केल्डेरुपलाई सुरुदेखि खेलाउने वा नियमित विंगर एन्टोनियो नुसा र अलेक्जेन्डर सोरलोथलाई निरन्तरता दिने भन्ने निर्णय महत्त्वपूर्ण रहने जनाइएको छ।
विगत हेर्दा इङ्ल्यान्ड बलियो देखिन्छ। दुई टोलीबीच भएका १२ भेटमध्ये इङ्ल्यान्डले सात खेल जितेको छ। तर, वर्तमान विश्वकपमा नर्वेले देखाएको आत्मविश्वास र हालान्डको विस्फोटक प्रदर्शनले इङ्ल्यान्डलाई सहज नहुने देखिएको छ। इङ्ल्यान्ड अनुभव र सन्तुलित टोलीका कारण सेमिफाइनल पुग्ने दाबेदार मानिए पनि नर्वे इतिहास रच्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। केन र हालान्डबीचको गोल प्रतिस्पर्धा, वेलिङ्घम र ओडेगार्डको मिडफिल्ड भिडन्त तथा दुवै टोलीको आक्रामक शैलीका कारण यो खेल विश्व फुटबल समर्थकका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २६ असार २०८३, शुक्रबार












प्रतिक्रिया