काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सोम शर्मा पुनः कायम भएका छन्। यसअघि पूजा बास्तोलाले दिएको उजुरीका आधारमा उनको नाम हटाइएको भए पनि निर्वाचन आयोगले अन्तिम निर्णय गर्दै शर्मालाई पुनः केन्द्रीय सदस्यका रूपमा कायम गरेको हो।

रास्वपाका निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार केन्द्रीय समितिको नामावली सच्याउने क्रममा पार्टी विधानअनुसार गरिएको व्यवस्थाका आधारमा यो निर्णय गरिएको हो।

उनले पाँच सदस्य चयन हुने सम्बन्धित समूहमा तीन जनाको निर्णय यसअघि नै भइसकेको र बाँकी दुई जनाबारे उजुरी परेपछि पुनः समीक्षा गरिएको जानकारी दिए।

केसीका अनुसार पार्टी विधानले उक्त समूहबाट कम्तीमा दुई जना महिला अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ। त्यससँगै सबैभन्दा बढी जनसंख्या भएको प्रदेश क्लस्टरबाट पनि एक जना प्रतिनिधित्व गर्नुपर्ने प्रावधान रहेकाले अन्तिम नामावली त्यसैअनुसार संशोधन गरिएको हो।

मत परिणामअनुसार पूजा बास्तोला पाँचौँ स्थानमा र विष्णुकुमारी गुरुङ सातौँ स्थानमा रहेकी थिइन्। तर विधानमा रहेको प्रदेशगत प्रतिनिधित्वको व्यवस्थाका कारण विष्णुकुमारी गुरुङलाई यथावत् राखिएको र त्यसपछि सोम शर्माको नाम पुनः कायम गरिएको केसीले स्पष्ट पारे।

उनले निर्वाचन आयोगको निर्णय अन्तिम हुने भएकाले अब रास्वपाको केन्द्रीय समितिमा सोम शर्माकै नाम कायम रहने बताए।

प्रकाशित मिति: २७ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com