काठमाडौं । नयाँ विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइ तथा वितरणका लागि आवश्यक तयारी करिब ९० प्रतिशत पूरा भएको राहदानी विभागले जनाएको छ।

एक वर्षअघि राहदानी आपूर्तिको ठेक्का पाएका जर्मन कम्पनीहरूले देशभरका जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगमा सफ्टवेयर अद्यावधिक, डाटा व्यवस्थापन र अन्य प्राविधिक तयारीलाई अन्तिम चरणमा पुर्‍याएका छन्।

विभागका अनुसार हाल १०२ सेवा केन्द्रमध्ये नौ स्थानमा मात्र सफ्टवेयर अद्यावधिक गर्न बाँकी छ। तीमध्ये केही दुर्गम क्षेत्रमा आवश्यक उपकरण ढुवानीमा ढिलाइ भएको छ भने केही कार्यालयका पुराना कम्प्युटर प्रणालीमा नयाँ सफ्टवेयर स्थापना गर्न प्राविधिक समस्या देखिएको छ।

नयाँ प्रणाली पूर्ण रूपमा सञ्चालनमा ल्याउन विभागले बिहीबारदेखि नियमित राहदानी सेवा स्थगित गरी परीक्षण (टेस्टिङ) गरिरहेको छ। विभागका निर्देशक दीपक बन्जाडेका अनुसार तयारीको प्रगति निरन्तर भइरहेको छ र पूर्वनिर्धारित कार्यतालिकाअनुसार सोमबारदेखि नयाँ राहदानी वितरण सुरु गर्ने लक्ष्य रहेको छ।

”तयारीको काममा घण्टाघण्टामा प्रगति भइरहेको छ। सोमबारसम्म पहिलो चरणको काम सम्पन्न हुन्छ,” निर्देशक बन्जाडेले भने।

राहदानी विभागका कर्मचारीका अनुसार विभाग र जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नयाँ राहदानीको डेमो प्रिन्ट सफलतापूर्वक गरिएको छ। परराष्ट्रमन्त्री शिशिर खनाल तथा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले विभाग पुगेर तयारीको निरीक्षण गरेका थिए। निरीक्षणका क्रममा मन्त्री, सल्लाहकार तथा केही कर्मचारीका नमुना राहदानी पनि परीक्षणका रूपमा छापिएको विभाग स्रोतले जनाएको छ।

“डेमो प्रिन्ट सफल भएको छ। हाम्रो पूर्वयोजनाअनुसार सोमबारदेखि नियमित रूपमा राहदानी छपाइ र वितरण सुरु हुन्छ,” विभागका एक कर्मचारीले बताए।

सरकारले ६४ लाख थान राहदानी आपूर्तिका लागि जर्मनीका म्युहलबौयर आइडी सर्भिस र भेरिडोससँग एक वर्षअघि ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार म्युहलबौयर आइडी सर्भिसले पहिलो प्याकेज करिब १ अर्ब ५५ करोड रुपैयाँमा तथा भेरिडोसले दोस्रो प्याकेज ६ अर्ब ११ करोड ३८ लाख रुपैयाँमा कार्यान्वयन गरिरहेका छन्।

यसअघि राहदानी छपाइसम्बन्धी ठेक्कामा अनियमितता भएको आरोप लगाउँदै प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयको दबाबमा असार ८ गते राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल, अन्य कर्मचारी तथा जर्मन कम्पनीविरुद्ध मुद्दा दायर गरिएपछि राहदानी आपूर्ति प्रभावित हुने आशंका गरिएको थियो। तर विभागले तयारी निर्धारित कार्यतालिकाअनुसार अघि बढिरहेको भन्दै सोमबारदेखि नयाँ राहदानी छपाइ र वितरण सुरु हुने जनाएको छ।

प्रकाशित मिति: २७ असार २०८३, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com